आज:  २०८२ भाद्र १८, बुधबार | Wed, 03, Sep, 2025 Search
FLASH NEWS

कार्यस्थलमा स्तनपान कक्षको महत्व

    प्रकाशित २०८२ भाद्र १८, बुधबार (२ घण्टा अघि)


अविनाश पन्थी

नेपालका अधिकांश कार्यस्थल लैङ्‌गिकमैत्री बन्‍न सकेका छैनन्।फलस्वरूप सेवाप्रदायक तथा सेवाग्राही मर्कामा छन्।कार्यालयमा शिशु स्याहार तथा स्तनपान कक्षहरूको व्यवस्थापन, लैङ्‌गिकमैत्री कार्यस्थल निर्माणको प्राथमिक आवश्यकता हो।कार्यस्थलमा स्तनपान कक्षको व्यवस्था सुत्केरी महिला कर्मचारीहरूलाई उत्प्रेरित गर्ने महत्वपूर्ण तत्व हो।यो सुविधा केवल एक भौतिक संरचना मात्र नभएर कर्मचारीको कल्याण, सम्मान र उत्पादकत्वसँग प्रत्यक्ष जोडिएको विषय हो।कार्यस्थलमा स्तनपान कक्षको व्यवस्था आमा र शिशु दुवैका लागि अत्यन्त महत्त्वपूर्ण छ।यसले आमालाई काममा फर्किएपछि पनि आफ्नो शिशुलाई स्तनपान गराउन सहज वातावरण प्रदान गर्छ।

सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार ५५ प्रतिशत बालबालिकालाई मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ।यस्तै, १० मध्ये ६ बालबालिकालाई मात्र जन्मेपछि पहिलो दुई दिनसम्म पूर्ण स्तनपान गराइन्छ।विश्‍व स्वास्थ्य संगठनको सुझाव अनुसार ६ महिनासम्मका बालबालिकालाई पूर्ण रूपमा स्तनपान मात्र गराउनुपर्छ।नेपालमा ६ महिना मुनिका ५६ प्रतिशत बालबालिकालाई मात्र पूर्ण रूपमा स्तनपान गराउने गरिएको छ।६ महिनाभन्दा मुनिका एक प्रतिशत बालबालिकालाई स्तनपान गराइएको छैन।

पूर्ण स्तनपान गराउन महिलाहरूलाई परिवार, स्वास्थ्य सेवा प्रणाली, समाज र ठूला रोजगारदाताको साथ र सहयोगको आवश्यकता पर्छ।यस्तै, सही स्तनपानको जानकारी पनि गराउन आवश्यक हुन्छ।सही स्तनपान र स्तनपानको निरन्तरताले बालबालिकाको पोषण स्थिति सुधार गरी ‘स्टन्टिङ’ (उमेर अनुसार बालबालिकाको वृद्धि विकास नहुनु) को भार पनि कम गर्छ।कार्यस्थलमा स्तनपानलाई सहज बनाउने यस्तो अवधारणाको विकास विगतमा हुन सकेको थिएन।तर, सन् २०१२ मा अन्तर्राष्ट्रिय श्रम संगठनले कामकाजी दुनियाँ (वर्कफोर्स) मा प्रवेश गर्ने महिलाको संख्या बढ्दै गएको परिप्रेक्ष्यमा स्तनपानका लागि साथ, सहयोग र समर्थनलाई सुदृढ बनाउन आवश्यक छ भनी किटान गरेको थियो।

नेपालमा भएका नीतिगत र कानुनी प्रावधानः

श्रम ऐन, २०७४: यस ऐनको दफा ४२ मा उल्लेख भएअनुसार, महिला कर्मचारी कार्यरत रहेका कार्यस्थलमा शिशु स्याहार कक्षको व्यवस्था गर्नु रोजगारदाताको दायित्व हो।यद्यपि, स्तनपानका लागि छुट्टै कक्षको स्पष्ट व्यवस्था ऐनमा उल्लेख छैन।

श्रम ऐन, २०७४ को दफा ४५ र यसका साथमा सिफारिश उपदफा १-७ ले गर्भवती महिला श्रमिकले प्रसूतिको अघि वा पछि १४ हप्ताको प्रसूति बिदा पाउने, प्रसूति हुने सम्भावित मितिभन्दा कम्तीमा दुई हप्ता अगाडिदेखि प्रसूति भएको कम्तीमा ६ हप्तासम्म अनिवार्य रूपमा बिदा बस्नुपर्ने व्यवस्था गरेको छ।

साथै, दफा ४५ को उपदफा (३)मा ‘उपदफा (१) बमोजिमको प्रसूति बिदा लिने महिला श्रमिकले ६० दिनको पूरा पारिश्रमिक पाउनेछ र बाँकी अवधिको पारिश्रमिक पाउने छैन ‘ भनी उल्लेख छ।

उपदफा (४)मा ‘प्रसूति भएको महिला श्रमिक वा निजको शिशुको स्वास्थ्यको लागि थप आराम आवश्यक पर्ने भनी मान्यताप्राप्त चिकित्सकले सिफारिश गरेमा रोजगारदाताले प्रसूति बिदासँगै निरन्तर हुने गरी उपदफा (१) मा उल्लिखित अवधिको अतिरिक्त थप एक महीनासम्मको बेतलबी बिदा स्वीकृत गर्ने वा अन्य बिदामा समायोजन हुने गरी बिदा दिनु पर्नेछ ‘ भनी उल्लेख छ।

यस्तै, सात महिना वा सोभन्दा बढी गर्भ रहेको महिला श्रमिकको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा प्रसूति भए सरह बिदा पाउने पनि ऐनले व्यवस्था गरेको छ।

उपदफा (६) मा ‘बच्चा जन्मेको ६० दिन नपुग्दै आमाको मृत्यु भएमा त्यस्तो पत्नीको मृत्यु हुने श्रमिकले आफू कार्यरत रोजगारदाताबाट शिशु स्याहारको लागि पारिश्रमिक सहित बाँकी अवधिको बिदा लिन पाउनेछ ‘ र उपदफा (७)मा ‘कुनै पुरुष श्रमिकको श्रीमती सुत्केरी हुने भएमा निजले पारिश्रमिक सहितको १५ दिन प्रसूति स्याहार बिदा पाउनेछ ‘ भन्ने पनि उल्लेख छ।

सुत्केरी बिदा, बिरामी बिदा र बिदा सङ्‌कलनमा यो श्रम ऐनसम्म आइपुग्दा नेपालले प्रसूति बिदामा ठूलो छलाङ मारेको छ।यो ऐनमा १४ हप्तासम्म सुत्केरी बिदा दिने र ६० दिनको पुरा पारिश्रमिक पाउने व्यवस्था छ। अघिल्लो श्रम ऐनमा यो अवधि ५२ दिन थियो।

हाल नेपाल सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, २०७५ को खण्ड १३ लाई संशोधन गर्दै ९८ दिनको सुत्केरी बिदालाई दोब्बर बनाउने तयारी गरेको छ।

नेपाल सरकारका विभिन्‍न निकायहरू, विशेषगरी स्वास्थ्य मन्त्रालय र महिला तथा बालबालिका सम्बन्धी निकायहरूले जारी गरेका निर्देशिकाहरूमा कार्यस्थलमा स्तनपान कक्षको आवश्यकतालाई जोड दिइएको छ। यी कानुनी प्रावधानहरूले कार्यस्थलमा महिलाका लागि सहयोगी वातावरण सिर्जना गर्न प्रोत्साहन गरे पनि, यसको कार्यान्वयन पक्ष अझै कमजोर रहेको पाइन्छ।

महत्वः

नियमित स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले गर्दा उनीहरू विभिन्न रोगहरूबाट सुरक्षित रहन्छन्। स्तनपानले आमालाई प्रसवपछिको स्वास्थ्यलाभमा मद्दत गर्छ र स्तन क्यान्सरजस्ता रोगको जोखिम कम गर्छ।कार्यस्थलमा स्तनपानको सुविधा हुँदा महिला कर्मचारीहरू मानसिक रूपमा ढुक्‍क हुन्छन्।जसले उनीहरूको कामप्रतिको सन्तुष्टि र उत्पादकत्व बढाउँछ। यस्तो सुविधाले महिला कर्मचारीहरूलाई काम छोड्नबाट रोक्छ र संस्थाको छवि पनि सकारात्मक बनाउँछ। यसले कार्यस्थलमा लैङ्‌गिक समानतालाई बढावा दिनुका साथै महिलाहरूलाई काममा निरन्तरता दिन प्रोत्साहन गर्छ।

नेपालमा केही सरकारी तथा गैरसरकारी संस्थाहरूले स्तनपान कक्षको व्यवस्था गरेका छन्, जुन अरूका लागि पनि उदाहरण बन्‍न सक्छ।तीमध्ये केही प्रमुख कार्यालयहरू यस प्रकार छन्:

नेपाल सरकारका मन्त्रालय र विभागहरू: हालैका वर्षहरूमा, केही सरकारी कार्यालयहरू, जस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्तनपान कक्षको स्थापना गरेका छन्।

नेपाल टेलिकम: यसले आफ्ना केही मुख्य कार्यालयहरूमा स्तनपान कक्षको व्यवस्था गरेको छ।

संयुक्त राष्ट्र सङ्‌घका कार्यालयहरू (UN agencies): नेपालमा रहेका संयुक्त राष्ट्र सङ्‌घका विभिन्न कार्यालयहरू (UNICEF, UNDP, आदि) मा लामो समयदेखि नै स्तनपान कक्षहरू सञ्‍चालनमा छन्।

केही बैङ्‌क तथा वित्तीय संस्थाहरू: केही ठूला निजी बैङ्‌क तथा वित्तीय संस्थाहरूले पनि आफ्ना कर्मचारीहरूको सुविधाका लागि यस्तो कक्ष स्थापना गरेका छन्।

स्तनपान कक्षको स्थापना बालबालिका र महिला कर्मचारी साथै संस्थाको कार्यसम्पादनमा समेत ठुलो महत्व देखिन्छ।यद्यपि नेपालका अधिकांश निजी तथा सरकारी कार्यालयहरूमा अझै पनि स्तनपान कक्षको व्यवस्था हुन नसक्नुले हामी महिला र बालाबालिकाका मुद्दामा कत्तिको संवेदनशील छौं भन्‍ने कुरालाई स्पष्ट पार्छ।यसका लागि सरोकारवाला निकायहरूले थप पहल गर्न जरुरी छ।

(लेखक अविनाश पन्थी देवचुली नगरपालिकामा कार्यरत छन ।)

Write your Comment