काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलास्थित भागमा मंगलबार दिउँसो पुनः ठूलो सुक्खा पहिरो खसेको छ। दिउँसो ३:२० बजे खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए।
चितवनको इच्छाकामना गाउँपालिका–५ मा निरन्तर सुक्खा पहिरो खसिरहेका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। सडक भासिन सक्ने उच्च जोखिम देखिएकाले सवारीसाधनलाई फर्काएर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ।
निरन्तर खसिरहेको ठूलो सुक्खा पहिरो पन्छाउन कठिनाइ भइरहेको र राजमार्ग तत्काल सुचारु हुने अवस्था नरहेको अधिकारीहरूले बताएका छन्। यसअघि शुक्रबार साँझदेखि नै उक्त क्षेत्रमा निरन्तर पहिरो खसिरहेको थियो। सोही पहिरो हटाएर राजमार्ग खोलिए पनि मंगलबार अपरान्ह पुनः ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
यसअघि मंगलबार बिहान ५:४० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो करिब १० घण्टापछि मात्र पन्छाइएर सडक सञ्चालनमा ल्याइएको थियो।
ठूलो सुक्खा पहिरो हटाउन समय लाग्ने भएकाले सडक विभागले काठमाडौं आउजाउ गर्ने यात्रुलाई तीनवटा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
पहिलेको सम्बन्धित समाचार: पहिरो पन्छाएपछि दुईतर्फी खुल्यो नागढुंगा-मुग्लिन सडक