धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा खसेको पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
मंगलबार बिहान करिब ५:४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।
झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले देबचुलीखबरलाई जानकारी दिए ।
अहिले पहिरो पूर्ण रूपमा पन्छाइएपछि सडक पुनः सञ्चालनमा आएको हो । योसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।