देवचुली । देवचुली नगरपालिकाले असोज ३० गतेदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गर्ने भएको छ। नगरपालिकाद्वारा देवचुली-१० मा रहेको पृथ्वी माध्यमिक विद्यालयको संयोजनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न लागिएको हो । असोज ३०,३१ र कार्तिक १ गते तीन दिनसम्म प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।
नगरभित्रका माध्यमिक तहका विद्यालयको प्रतिनिधित्व रहने प्रतियोगितामा करिब ५०० जना विद्यार्थीले भाग लिने अपेक्षा गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा देवचुलीका अधिकृत नन्दलाल ढकालले बताउनुभयो । असोज ३० गते बिहान प्रत्येक सहभागी विद्यालयका सहभागीले खेल मैदानमा मार्चपास प्रदर्शन गर्ने अधिकृत ढकालले बताउनुभयो । प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धी खेलाडी वा समूहलाई मेडल, प्रमाणपत्र प्रदान गरिने र सबैभन्दा धेरै मेडल प्राप्त गर्ने तीन वटा विद्यालयलाई नगद सहितको पुरस्कार दिइने उहाँले बताउनुभयो ।
हरेक विधामा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने खेलाडी विद्यार्थी वा समूह जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोटमा पर्ने युवा तथा खेलकुद विकास समिति देवचुलीका सदस्य सचिव प्रकाश काफ्लेले बताउनुभयो । एथलेटिक्स, मार्सल आर्ट, ब्याडमिन्टन, भलिवल र कपर्दी गरी ५ विधाका ५४ वटा इभेन्टमा छात्र-छात्राका प्रतियोगिता हुने काफ्लेले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाको आयोजना, पृथ्वी माविको संयोजन र नगर खेलकुद विकास समितिको समन्वयमा नगर रंगशालामा प्रतियोगिता संचालन हुने जनाइएको छ ।