काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बसेपछि प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
‘जेनजी’ आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीको यो पहिलो औपचारिक सम्बोधन हुनेछ। उनी गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी हुन्। भदौ २३ र २४ गते भएको जनआन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो।
कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ। अन्तरिम सरकारको मुख्य प्राथमिकता तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गर्नु रहेको छ।