आज:  २०८२ भाद्र ३०, सोमबार | Mon, 15, Sep, 2025 Search
FLASH NEWS

पाँचौं जितिया कप महिला फुटबल : राप्ती नगरपालिका र अभिषेक चर्च रजहर सेमिफाइनल प्रवेश

    प्रकाशित २०८२ भाद्र ३०, सोमबार (२ घण्टा अघि)


देवचुली । कावासोती १२ मा संचालित पाँचौं जितिया कप महिला फुटबल प्रतियोगिताको सोमबारका खेलमा विजयी हुँदै राप्ती नगरपालिका र अभिषेक चर्च रजहर सेमिफाइनल प्रवेश गरेका छन् । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा देवचुली नगरपालिकाका विरुद्ध राप्ती नगरपालिकाबिचको खेलमा राप्ती नगरपालिका विजयी भएको हो ।


राप्ती नगरपालिकाले देवचुली नगरपालिकालाई ७-१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा राप्ती नगरपालिकाबाट मनिषा तामाङले ३ गोल, सिमा रावलले २ गोल, सलिना तामाङ र निर्मला रावलले १/१ गोल गरेका थिए भने देवचुली नगरपालिकाबाट रोजिना बोटेले गोल गरेकी थिइन् । पहिलो खेलमा राप्ती नगरपालिकाका मनिषा तामाङ म्यान अफ दि म्याच भएकी थिइन् ।


सोमबार भएको अभिषेक चर्च रजहरका विरुद्ध एफ चितवन गीतानगरबीचको खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो । अभिषेक चर्च रजहरले एफ चितवनलाई ट्राइबेकरमा ३-१ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १-१ गोल भएपछी खेल ट्राइबेकरमा गएको थियो । निर्धारित समयको खेलमा अभिषेक चर्च रजहरबाट तुलिसा शाही गोल गरेकि थिइन् भने एफ चितवनको तर्फबाट पुजा सुनारले गोल गरेकी थिइन् । दोस्रो खेलमा एफ चितवनकी उमा राना मगर म्यान अफ दि म्याच भएकी थिइन् ।

नवलपुर र चितवनबाट ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३७ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत मंगलबार हेल्पफुल साइमनका विरुद्ध राप्ती नगरपालिका र डायमण्ड युथ सोसाइटीका विरुद्ध अभिषेक चर्च रजहरका बिच सेमिफाइनलका खेल हुने आयोजकले जनाएको छ ।

Write your Comment