आज:  २०८२ आश्विन २७, सोमबार | Mon, 13, Oct, 2025 Search
FLASH NEWS

चितवनमा दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति कप महिला फुटबल प्रतियोगिता हुने

    प्रकाशित २०८२ आश्विन २४, शुक्रबार (३ दिन अघि)


चितवन । चितवनको कालिका नगरपालिकामा दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । कालिका नगरपालिका वडा नम्बर ८ मा रहेको हेल्पफूल साइमन स्पोर्ट्सको आयोजनामा गैरीबारी चोक खेल मैदानमा कार्तिक १५ गतेबाट प्रतियोगिता सुरु गर्न लागिएको हो ।

प्रतियोगितामा विभिन्न जिल्लाका ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, उप बिजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा विवाहित महिलाहरुको लुङ्गी फुटबल प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।

प्रथम संस्करणको प्रतियोगिता सम्पन्न गरि अनुभव बटुलेको हेल्पफूल साइमन स्पोर्ट्सले दोस्रो संस्करणलाई व्यवस्थित, सौहार्दपुर्ण र उत्साहजनक वातावरणमा संचालन गर्ने लक्ष्य लिएको स्पोर्ट्सका प्रशिक्षक तथा संस्थापक सजिन श्रेष्ठ ले जानकारी दिए । दोस्रो संस्करणको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने हुँदा अझ रोमान्चक हुने उनले बताए ।

उनका अनुसार हेल्पफूल साइमन स्पोर्ट्स चितवनमा महिला फुटबलका खेलाडी उत्पादन गर्ने एकेडेमीको रुपमा परिचित छ। विभिन्न प्रतियोगितामा सहभागी भई सफलता हात पारिसकेको क्लबले महिला फुटबललाई स्थानीय स्तरमै सशक्त रुपमा स्थापित गर्ने उद्देश्यले आफ्नो गतिविधिहरू अघि बढाउँदै आएको उनले बताए ।

खेलकुदमार्फत सामाजिक एकता र महिला सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्य रहेको र महिला खेलाडीहरु उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी गराउन साइमन स्पोर्ट्स निरन्तर लागिरहेको जनाइएको छ । स्पोर्ट्सका प्रशिक्षक समेत रहेका सजिनले सबैको सहयोगले महिला खेलाडीहरुलाई प्रशिक्षण संचालन गरिरहेको र स्पोर्ट्सका आगामी कार्यक्रममा समेत सबैको सहयोग रहने अपेक्षा रहेको बताए ।

Write your Comment