पं-बालमुकुन्द देबकोटा- आज भाद्र कृष्ण औंसी, वैदिक हिन्दू परम्परामा कुशेऔंसी भनेर चिनिने विशेष दिन, देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। यस दिन जीवित पिताप्रति आदर र सम्मान व्यक्त गर्दै “पिताको मुख हेर्ने दिन” मनाइन्छ भने दिवंगत पिताको आत्मशान्तिका लागि श्राद्ध गर्ने परम्परा रहेको छ।
वैदिक परम्परा अनुसार आज बिहान विशेष मन्त्र उच्चारण गर्दै माटोको स्नान गरिन्छ। “अश्वक्रान्ते रथक्रान्ते विष्णुक्रान्ते वसुन्धरे ! मृत्तिके हन्मे पापं दुष्कृतं कृतम्” मन्त्रसहित स्नान गरी शरीरलाई पवित्र बनाएपछि भगवानको नित्य पूजा, जप तथा आराधना गर्ने प्रचलन छ।
यस दिन कुश धारण गर्नु विशेष महत्वका रूपमा लिइन्छ। धार्मिक शास्त्रअनुसार, भगवान विष्णुको वराह अवतारको शरीरबाट खसेको रौँबाट कुशको उत्पत्ति भएको हो। त्यसैले कुशलाई भगवानको विभूति मानिन्छ। “दर्भा विभूतिर्मे तार्क्ष्य मम रोमसमुद्भवा” भन्ने मन्त्रमा यसको पुष्टि गरिएको छ।
कुशको स्पर्श मात्रले पनि पाप नाश हुने र स्वर्गलोक प्राप्त हुने विश्वास गरिन्छ। कुशको जरा, बिच र टुप्पामा क्रमशः ब्रह्मा, विष्णु र शिवको वास हुन्छ भन्ने शास्त्रीय मान्यता छ। साथै, कुश स्वास्थ्योपचारमा समेत उपयोगी मानिन्छ—दुध बिग्रन नदिन, रक्तपित्त, मृगौलाको पत्थरी, तिर्खा आदि रोग निवारणमा यसको प्रयोग हुने बताइन्छ।
यस अवसरमा वैदिक धर्मावलम्बीहरुले आफ्ना पितृको स्मरणमा श्राद्ध गर्ने र जीवित पितालाई सम्मान गर्ने चलन पुरानो छ। संस्कृत श्लोकमा भनिएझैँ,
“यं मातापितारौ क्लेशं सहेते सम्भवे नृणाम्।
न तस्य निष्कृति: शक्या कर्तुं वर्षशतैरपि।।”
अर्थात्, आमा–बुबाले सन्तानलाई जन्माउन र हुर्काउन गरेका कष्टको ऋण सन्तानले सयौँ वर्षसम्म पनि चुक्ता गर्न सक्दैन।
पं. बालमुकुन्द देवकोटाका अनुसार, कुशेऔंसी संस्कार, परम्परा र पितृ–सम्मानसँग जोडिएको दिन हो। उनले भने, “आमा–पिता हाम्रो धर्ती र आकाश समान हुनुहुन्छ। जीवनभर उहाँहरुको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म हो। दिवंगत भएपछि श्राद्धमार्फत पितृलाई तृप्त पार्नु हाम्रो कर्तव्य हो।”
यसरी कुशेऔंसी केवल धार्मिक विधि मात्र नभई आमा–पिताप्रति कृतज्ञता, संस्कार र पितृपरम्परा निरन्तरता दिने दिवसका रूपमा देशभर श्रद्धा र सम्मानका साथ मनाइँदैछ।