

मध्यविन्दु । मध्यविन्दु नगरपालिका-७ मा बालक्लबका पदाधिकारी तथा बालबालिकालाई लक्षित गरी बाल अधिकार, किशोरी अधिकार तथा बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा, क्यान्नलानको सहयोग तथा जिल्ला प्रहरी कार्यालय नवलपुर र मध्यविन्दु वडा नं. ७ को समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता वडास्तरीय बालक्लब तथा नगर बाल सञ्जालका अध्यक्ष प्रविन रेग्मीले गरेका थिए भने प्रमुख अतिथिमा वडा अध्यक्ष कर्णबहादुर मल्ल रहेका थिए। कार्यक्रममा स्वागत तथा उद्देश्य प्रस्तुतकर्ता, संस्थाकी वरिष्ठ कार्यक्रम अधिकृत राधा देवी बोटेले किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत ३० जना किशोरीलाई प्रदान गरिएको तालिम र बालमैत्री स्थानीय शासनका सिद्धान्तबारे जानकारी दिइन्। उनले सरोकारवालासँगको सहकार्यमा बालमैत्री अभियानलाई अघि बढाइरहेको बताइन् ।
साथी शिक्षक अनिसा पौडेलले बालबालिकाको परिभाषा, अधिकारका चार आधार स्तम्भ, बालक्लबको भूमिका, बाल विवाह, हिंसा तथा दुर्व्यवहारमा सहयोग प्राप्त गर्न सकिने संरचनाबारे सहभागीहरूलाई अभिमुखीकरण गराइन् । वडा सदस्य अर्जुन पुरीले यस्ता कार्यक्रमले बालमैत्री वडा निर्माणमा योगदान पुर्याउने बताउँदै बालबालिकामा आत्मरक्षा तथा नेतृत्व विकासमा मद्दत गर्ने बताए । कार्यपालिका सदस्य शिव कुमारी मल्लले बालक्लबको जिम्मेवारी, आवश्यकताहरू पहिचान गर्ने क्षमता र २० वर्षभन्दा कम उमेरमा विवाह नगर्नुपर्ने कानुनी प्रावधानबारे सचेत गराउँदै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

प्रमुख अतिथि वडा अध्यक्ष कर्णबहादुर मल्लले सिकाइलाई व्यवहारमै उतार्न सहभागी बालबालिकालाई आग्रह गर्दै, सिकेका विषयहरू परिवार, छिमेकी र विद्यालयमा पनि विस्तार गर्न अनुरोध गरे । सभाध्यक्ष प्रविन रेग्मीले वडाका बालक्लबहरूको अवस्था र क्रियाकलापबारे बालबालिकाले स्वयम् जिम्मेवारीपूर्वक बुझ्नुपर्ने बताए। उनले संस्थाले बालबालिकाका लागि प्रदान गर्दै आएको साथ, सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
अन्तरक्रियात्मक सत्र र खेलमार्फत सिकाइलाई प्रभावकारी बनाइएको कार्यक्रमका सहभागीमध्ये वडाअध्यक्ष, कार्यपालिका सदस्य शिव कुमारी मल्ल, वडा सदस्य अर्जुन पुरी, साथी शिक्षक वर्षा खनाल, दृष्टि अर्याल र विभिन्न बालक्लबका प्रतिनिधिहरू रहेका थिए। कार्यक्रममा २५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाकी सामाजिक परिचालिका रुपा भट्टराई काफ्लेले गरेकी थिइन् ।