आज:  २०८२ मंसिर १, सोमबार | Mon, 17, Nov, 2025 Search
FLASH NEWS

देवचुली- ७ का सत्तरी जनालाई फाइबर सिरक वितरण

    प्रकाशित २०८२ मंसिर १, सोमबार (१२ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ७ का सत्तरी जनालाई फाइबर सिरक वितरण गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ७ को आयोजना, फ्युचर अफ होप ललितपुरको सहयोग साथै अभिषेक मुडाबास चर्च र दलदले अभिषेक चर्चको समन्वयमा आइतबार वडा भित्र रहेका अशक्त, एकल महिला तथा विपन्न परिवारलाई फाइबर सिरक वितरण गरिएको हो ।


वडाबासीको आवश्यकता,ईच्छा र चाहना धेरै नै भएको तर वडाको सिमित बजेट हुँदा धेरै कार्यक्रम गर्न नसकिएको अवस्थामा फ्युचर अफ होप ललितपुरलाई अनुरोध गरिएको र सो अनुसार संस्थाले वडामा सहयोग गरेको देवचुली-७ का वडा अध्यक्ष भुमिसरा थापाले बताउनुभयो । मुडाबास अभिषेक चर्चको पहलमा संस्थाद्वारा वडामा सहयोग गरेकोमा उहाँले धन्यवाद दिनुभयो ।

सिरक वितरण कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले संस्थाद्वारा स्वास्थ्य शिविर, सामाग्री वितरण कार्य गर्दै आइरहेको र आगामी दिनमा समेत नगरपालिकासँग सहकार्य गर्दै सामाजिक कार्यलाई निरन्तरता दिनका लागि आग्रह गर्नुभएको थियो । अपांगता भएका व्यक्ति, अशक्त तथा विपन्न परिवारलाई जाडो समयमा फाइबर सिरक महत्त्वपूर्ण भएको र साना साना सहयोगले ठूलो राहत पुग्ने उहाँले बताउनुभयो । वडामा महिला वडा अध्यक्ष हुँदा महिलाहरुका लागि विभिन्न कार्यक्रमहरु अन्य वडाका तुलनामा धेरै संचालन गर्नुभएको आफुले पाएको उहाँको भनाई छ ।

फिउचर अफ होपका निर्देशक कवि थापाले चिसो मौसम सुरु हुनै लाग्दा थोरै भएपनि अशक्त, एकल महिला तथा विपन्न परिवारलाई सहयोग पुगोस भनेर फाइबर सिरक वितरण गरिएको बताउनुभयो । सामाजिक कार्य स्वरुप विभिन्न स्थानबाट सहयोग संकलन गरि सहयोगको कार्य गरिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रमको मुडाबास अभिषेक चर्चका वरिष्ठ पास्चर नवराज पाण्डे क्षेत्री र मुडाबास अभिषेक चर्चका शिलास पाण्डे क्षेत्रीले संयोजन गर्नुभएको थियो ।

देवचुली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुमिसरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचे, फ्युचर होप नेपालका निर्देशक कवि थापा, कावासोती १० का वडा अध्यक्ष टेक नारायण महतो, फ्युचर होप नेपाल गण्डकी प्रदेशका भेषराज महतो, मुडाबास अभिषेक चर्चका वरिष्ठ पास्चर नवराज पाण्डे क्षेत्री, मुडाबास अभिषेक चर्चका शिलास पाण्डे क्षेत्री, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

Write your Comment