आज:  २०८२ कार्तिक २९, शनिबार | Sat, 15, Nov, 2025 Search
FLASH NEWS

देवचुलीको कालिका माविमा हाटबजार मेलाको प्रदर्शन

    प्रकाशित २०८२ कार्तिक २९, शनिबार (३ घण्टा अघि)


देवचुली । देवचुली वडा नम्बर ९ मा रहेको कालिका माविमा हाटबजार मेलाको प्रदर्शन गरिएको छ । पुस्तकरहित शुक्रबार अन्तर्गत विद्यार्थीहरूलाई हाटबजारको धारणा प्रस्तुत गर्नका लागि विद्यार्थीहरुद्वारा नै मेला प्रदर्शन गरिएको हो ।

मेलामा विद्यार्थीहरुले आआफ्नो घरमा उपलब्ध भएका सामाग्रीहरु संकलन गरि हाटबजारको झल्को दिने गरि मेला प्रदर्शन गरेका थिए । हाटबजारमा विद्यार्थीहरुले विभिन्न तरकारी, फर्निचर, कपडा, स्टेसनरी सामाग्री, भाँडाकुँडा, स्थानीय उत्पादन भएका सामाग्री लगायत पसलहरु राखेका थिए ।

विद्यार्थीहरूले स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न सामानहरू संकलन गरी बजार व्यवस्थापन गरेका विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले बताउनुभयो । सामाजिक विषयका शिक्षकहरूको संयोजनमा विद्यार्थीहरूले हाटबजार भनेको के हो?, सामाग्री किनबेच बारेमा जानकारी प्राप्त गरेको उहाँले बताउनुभयो । स्थानीय वस्तुहरूलाई ठूला बजारहरूमा गएर किनबेच गर्नुभन्दा सानो बजारमा गएर किनबेच गर्दा सुपथ मूल्यमा सामानहरू पाइने र उनीहरूलाई सामग्रीहरू खरिदबिक्रीको प्रक्रियाको बारेमा समेत सिप सिकेका उहाँले बताउनुभयो ।

मेलाको अवलोकन गर्न आउनुभएका देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले मेलाबाट विद्यार्थीहरूलाई व्यवहारिक सीप प्राप्त भएको बताउनुभयो । विद्यार्थीहरूलाई सीपमूलक शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता बताउँदै व्यावसायको बारेमा विद्यार्थीहरुलाई सिकाउनका लागि मेला फलदायी भएको र विद्यार्थीहरूले विभिन्न सिपहरु सिकेको उहाँले बताउनुभयो ।

विद्यालयले विद्यार्थीहरूलाई फरक सीप सिकाउनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसालले बताउनुभयो । पुस्तक विहिन शुक्रबारको कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको कालिका माविले विद्यार्थीहरुकै सक्रियतामा हाटबजार मेलाको प्रदर्शन गरेको उहाँले बताउनुभयो । कार्यक्रममा सबैजना सक्रियतालाई उहाँले प्रशंसा गर्नुभयो । विद्यार्थीहरूले प्रदर्शन गरेको मेला नियाल्न आउनुभएका अभिभावक डिलु बस्यालले विद्यार्थीहरूको कार्यक्रम निकै नै राम्रो लागेको बताउनुभयो। किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञान दिँदा विद्यार्थीहरुलाई शैक्षिक गतिविधिमा सहज हुने उहाँको भनाई छ ।

मेलाको अवलोकनका लागि वडा अध्यक्ष बलिराम सापकोटा, घुमाउरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पार्वती रावल, विद्यालयका पुर्व प्रधानाध्यापक खगराज कंडेल, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराम अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्दिसागर भुसाल, मनकामना आधारभूत विद्यालयका प्रधानाध्यापक दोलकान्त अर्याल, पृथ्वी माविका शिक्षक शिवहरी अधिकारी, वडा युवा तथा खेलकुद विकास समिती देवचुली-९ का कृष्णबहादुर आले लगायत अभिभावक, विद्यार्थीको उपस्थिति रहेको थियो । स्थानीय स्तरमा भएका वस्तुहरुलाई पनि बिक्री गर्न सकिन्छ भन्ने कुरा मेलामा झल्काइएको थियो। मेलामा अवलोकन गर्नका लागि छिमेकी मनकामना आधारभूत विद्यालयका कक्षा ५ मा पढ्ने विद्यार्थीहरू शिक्षकसहित आएका थिए ।

Write your Comment