आज:  २०८२ मंसिर २, मंगलबार | Tue, 18, Nov, 2025 Search
FLASH NEWS

मध्यविन्दु-९ मा किशोरकिशोरी लक्षित अनलाइन सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    प्रकाशित २०८२ मंसिर २, मंगलबार (५ घण्टा अघि)


नवलपुर । मध्यविन्दु-९ मा किशोरकिशोरी लक्षित अनलाइन सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालद्वारा मध्यविन्दु नगरपालिकाको सहकार्यमा संचालन भएको किशोरी सशक्तीकरण परियोजना अन्तरगत आज मध्यविन्दु नगरपालिका-९ मा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा किशोरकिशोरीहरुलाई अनलाइन सुरक्षा तथा साइबर सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको हो ।


बालक्लबकी अध्यक्ष कृतिका गैरेको अध्यक्षता भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। जागृती बाल तथा युवा सरोकार नेपालकी सिनियर कार्यक्रम अधिकृत राधा देवी बोटेले संस्थाले मध्यविन्दु नगरपालिकाको समन्वय र क्यान्नलानको सहयोगमा सञ्चालन गर्दै आइरहेको किशोरी सशक्तीकरण कार्यक्रमअन्तर्गत ३० जना साथी शिक्षकहरूलाई प्रदान गरिएको तालिम र त्यसको विद्यालय तथा समुदायस्तरमा भइरहेको उपयोगबारे जानकारी दिइन्। उनले अहिलेको समयमा अनलाइनमार्फत हुने हिंसा, दुर्व्यवहार र ठगी घटनाहरू बढ्दो क्रममै रहेकोले यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन्।

साथी शिक्षक सजिना अधिकारीले साइबर अपराधका प्रकारहरू र त्यसका स्वरूपबारे सहजीकरण गरिन्। त्यसैगरी रितु घर्ती मगरले साइबर अपराधबाट सुरक्षित रहने उपायहरू तथा यस्तो जोखिम न्यूनीकरणमा बालक्लबहरूको भूमिकाबारे सहभागीहरूलाई मार्गदर्शन गरिन्।


कार्यक्रमका प्रमुख अतिथि दानबहादुर रायमाझीले विद्यालय र बालबालिकामा व्यवहारगत त्रुटिहरू कहिलेकाहीँ हुन सक्ने बताउँदै सुधार र सिकाइका लागि एक-अर्कालाई सुझाव दिनु र ध्यानपूर्वक सिकाइमा सहभागी हुनुपर्ने आवश्यकता औंल्याए। बालक क्लबकी अध्यक्ष कृतिका गैरेले पालिका तथा प्रहरीमार्फत यसअघि पनि अनलाइन सुरक्षासम्बन्धी तालिम प्राप्त गरेको अनुभव साझा गर्दै विद्यालयमै आफ्नै बहिनी-दिदीहरूको नेतृत्वमा कार्यक्रम पाउँदा अझ प्रभावकारी र सहज महसुस भएको बताइन्।

Write your Comment