आज:  २०८२ मंसिर १२, शुक्रबार | Fri, 28, Nov, 2025 Search
FLASH NEWS

देवचुली डाँडाको पर्यापर्यटन विकास सम्भावना र चुनौतीबारे अन्तरक्रिया सम्पन्न

    प्रकाशित २०८२ मंसिर १२, शुक्रबार (४ घण्टा अघि)


देवचुली । देवचुली डाँडाको पर्यापर्यटन विकासका सम्भावना र चुनौतिमाथि केन्द्रित अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा देवचुली डाँडाको फेदीस्थित बर्दा जुरेमा सरोकारवालाको सक्रिय उपस्थितिसहित भएको कार्यक्रममा स्थानीय तह, प्रदेश सांसददेखि सुरक्षा निकाय, प्रशासनिक नेतृत्व तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो।


कार्यक्रम देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसी प्रमुख आतिथि रहनुभएको थियो । देवचुली डाँडालाई नवलपुरको पर्यटकीय उत्कृष्ट गन्तव्य बनाउनका लागि सबैको चासो अभिवृद्धि गर्न र डाँडालाई संरक्षण गर्नका लागि कार्यक्रम गरिएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने जानकारी दिनुभयो । देवचुली डाँडामा आन्तरिक तथा बाह्रय पर्यटकको आगमन हुँदै गर्दा आवश्यक पुर्वाधार निर्माण, सुरक्षा सावधानी तथा स्थानीयको सहभागिता वृद्धिका लागि काम गरिरहेको उहाँले बताउनुभयो । देवचुलीमा मुख्य समस्या रहेको खानेपानीलाई समाधान गर्न पालिकाले सोलारद्वारा लिफ्टिङ गरि फेदीसम्म पानी पुर्‍याएपनि पर्याप्त नभएको, बुलिङटार गाउँपालिकाले पोखरीबाट डाँडा आउनका लागि पर्दमाग विस्तार गरिरहेको र देवचुलीसँगै बुलिङटारको सहकार्यमा काम भएतापनि धेरै काम गर्न बाँकी रहेको नगर प्रमुख न्यौपानेको बताउनुभयो । प्रदेश सरकारले गरिरहेको सहयोगबाट पदमार्ग स्तरोन्नतिको पुर्वाधार निर्माण भइरहेको बताउँदै डाँडाको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई सबैले चासो दिनुपर्ने र संरक्षणमा सबै लाग्नुपर्नेमा उहाँको जोड रहेको थियो ।


औपचारिक र प्यानल छलफल गरि दुई चरणमा भएको कार्यक्रममा संचालन गरिएको हो । गण्डकी प्रदेश सभाका सदस्य महेन्द्र ध्वज जिसी, नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे र देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्लेबीच प्यानल छ्लफल गरिएको हो । प्यानल छलफलको सहजीकरण गरेका पत्रकार आदर्श सुशिलले सरोकारवालाको चासोका विषय र हालसम्म पर्यटन प्रवर्द्धनमा गरिएका पहलला विषय छलफल चलाउनुभएको थियो । पहिलो पटक देवचुलीको फेदीमा पुग्नुभएका प्रदेश सभा सदस्य जिसीले देवचुली डाँडाको पर्यटन प्रवर्द्धनका लागि आवश्यक डिपिआर तयार गरि काम अगाडि बढाउनुपर्ने र प्रदेशद्वारा गर्न सकिने सहयोगमा पहल गर्ने कुरामा जोड दिनुभएको थियो । पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटक सुरक्षाको चुनौती बढेको र त्यसका लागि जिल्ला प्रशासन कार्यालय नवलपुर लागिरहेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । डाँडाको संरक्षण का लागि भएका विविध गतिविधिका बारेमा चर्चा गर्नुभएको देवचुली नगरपालिका नगर प्रवक्ता तिलप्रसाद काफ्लेले सबैको सहकार्यबाट देवचुलीको पर्यटन प्रवर्द्धन गर्न सकिने कुरामा जोड दिनुभएको थियो । देवचुली डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना, आवश्यक पूर्वाधार निर्माण, पहुँच मार्ग सुधार, वातावरणीय संरक्षण, स्थानीयको सहभागिता वृद्धि तथा निजी क्षेत्रसँगको सहकार्यजस्ता विषयमा आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले देवचुली डाँडामा दृश्यावलोकन, पदमार्ग, धार्मिक तथा सांस्कृतिक महत्त्वको संरक्षण, जैविक विविधता तथा साहसिक पर्यटनका विविध सम्भावना रहेको बताउँदै योजनाबद्ध कार्ययोजना, प्रभावकारी व्यवस्थापन र सुरक्षा पूर्वाधार विस्तार आवश्यक रहेको भनाई राख्नुभएको थियो ।


कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खडका, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख , देवचुली नगर कार्यपालिका, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नगरका विभिन्न शाखाका कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले कार्यक्रममा स्वागत सहित कार्यक्रमको उद्देश्य बारे जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रमको देवचुली नगरपालिका  आर्थिक विकास शाखाका प्रमुख शिवप्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment