

देवचुली । नेपालकै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार देवचुली नगरपालिकाको सभाहलमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरीयाको अध्यक्षतामा भएको २८ औँ साधारणसभामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि न्यौपानेले प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई वर्तमानका सम्भावना र चुनौतीलाई विश्लेषण गरि आगामी दिनहरुमा गर्ने कामको योजना बढाउन साधारणसभाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । प्रगतिनगर खानेपानी संस्थालाई आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।
साधारणसभामा संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८२/०८३ को कार्ययोजना र संस्थाको नीति तथा प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष कडरियाले मुहान तटबन्ध तथा फिल्टर प्लान्टको बृहत् डिपिआर तयार गर्ने, कार्यालय परिसरमा रहेको ओभरहेड टंकीमा प्रेसर फिल्टर जडान गर्ने, मृतक राहत कोष स्थापना, पानीको स्रोत व्यवस्थापन गर्ने, रिजर्ववायर ट्याङ्कीहरु मर्मत र ओभरहेड ट्याङ्की रङरोगन गर्ने, पिच बाटोमा रहेका पुराना पाइपलाइन विस्थापन गरि दोहोरो पाइप विस्तार गर्ने लगायतका २८ वटा कार्ययोजना सभामा पेश गर्नुभएको थियो । त्यसैगरी सभामा कोषाध्यक्ष विमला अधिकारीद्वारा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका आन्तरिक लेखा समितिका संयोजक जीवन श्रेष्ठले आन्तरिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सुरक्षा योजना उपसमितिका सचिव रविचन्द्र गिरीले खानेपानी सुरक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाका उपभोक्ताको तर्फबाट राधा न्यौपाने र डिलबहादुर खत्री, कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिपकराज लम्साल, राप्रपा नेपालका प्रतिनिधि यमप्रसाद भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी देवचुलीका सभापति शेरबहादुर केसी, नेकपा एमाले देवचुलीका सचिव कमल वाग्ले, नेपाली काँग्रेस देवचुलीका उप-सभापति भोजेन्द्र रायमाझी, देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष खिमानन्द भुसाल, देवचुली नगरपालिकाका प्रवक्ता एवम् देवचुली ११ का वडाध्यक्ष तिलप्रसाद काफ्लेले खानेपानी संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारण सभाको कार्यक्रममा निर्वाचन समिति, पूर्व कार्य समिति, लेखा समिति, सल्लाहकार समिति, पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । त्यसै गरि संस्थाको अनुरोधमा दलदले बजार र प्रगतिनगर बजारमा स्मार्ट वाटर फिल्टर जडान गर्न सहयोग गर्ने गरिमा विकास बैंक दलदले शाखा र सिटिजन्स बैंक धारापानी शाखालाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा खानेपानी संस्थाका साधारण सभाका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष कृष्ण बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णु प्रसाद न्यौपानेले गर्नुभएको थियो ।