

काठमाडौं । अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२५ को अवसरमा मेरो दिन मेरो अधिकार भन्ने अन्तर्राष्ट्रिय नारा र बालबालिकाको लागि लगानी सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रिय नाराका साथ देशभरि विभिन्न कार्यक्रमका साथ प्रत्येक वर्ष नोभेम्बर २० को दिन मनाइँदै आएको छ। यसै सन्दर्भमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको संयोजनमा कन्सोर्टियम नेपाल,सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल,बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्यमा बालबालिकाको विद्यमान अवस्था र हाम्रो दायित्व विषयक छलफल बुधबार सम्पन्न गरिएको हो । कार्यक्रममा ५० जिल्लाका ११४ जनाको सहभागितामा जुमको माध्यमबाट रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव गीता दाहालले बाल अधिकारको संरक्षण र संवर्द्धन तथा बालअधिकार अनुगमनमा आयोग प्रतिबद्ध रहेको बताउनुभएको थियो। त्यसैगरी गैरसरकारी संस्था महासङ्का अध्यक्ष अर्जुन भट्टराईले बालअधिकार संरक्षण समग्र नागरिक सङ्घसंस्थाको मुख्य एजेण्डा भएको हुनाले यो विषयमा संवेदनशील भएको बताउँदै बालबालिकाको सुरक्षामा ध्यान दिन सरकारलाई अपिल गर्नुभएको थियो।
आशुतोष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कन्सोर्टियम नेपालका अध्यक्ष प्रदिप लामिछानेले गर्नुभएको थियो । विकासका साझेदार संस्थाहरूको तर्फबाट बोल्दै सेभ द चिल्ड्रेनका अर्जुन थापाले बालअधिकारको विषय सबैको साझा विषय भएको हुनाले उनीहरूको संरक्षण र संवर्द्धनमा तिनै तहको सरकार र नागरिक संघसंस्था र निजी क्षेत्र मिलेर अगाडि बढ्न जरुरी भएको बताउनुभएको थियो।
कार्यक्रमका सहभागीहरुले बालबालिकाको डिम्ब निकाल्ने नाममा हिंसा भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने कुरा बताउँदै पछिल्ला घटनाक्रमले बालबालिकाको शिक्षा र दैनिकीमा असर परेको कैदी फरारबाट जोखिम रहेको हिंसात्मक र भ्रामक सामग्रीको कारण डिजिटल जोखिम बढेको सेवा प्रवाहमा अवरोध सिर्जना भएको सामाजिक सञ्जालको दुरुपयोग भएको जस्ता विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसैगरी बाल संवेदनशील सामाजिक सुरक्षामा ध्यान दिन बालपोषण भत्ता वृद्धि गर्न बाल बजेट कोडको र उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोगको विषयमा समेत सहभागीहरुले आवाज उठाएका थिए। अझै पनि ग्रामीण बस्तीहरुमा बालविवाह हुने गरेको सबैले निःशुल्क र अनिवार्य शिक्षा प्राप्त गर्न नसकेको बताउँदै कर्णालीमा अझै धेरै काम गर्नुपर्ने सहभागीहरूले बताएका थिए। कार्यक्रममा शालिग्राम पाण्डे, लीला भुजेल, रामकृष्ण रोए, प्रमिल जयर, पिंकी सिंह राणा लगायतले बोल्नुभएको थियो।

कार्यक्रममा विद्यमान परिस्थितिमा बालबालिकाको अवस्था र हाम्रो दायित्वको विषयमा केन्द्रीय बालकल्याण समितिका पूर्व कार्यकारी निर्देशक तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका पूर्व अध्यक्ष तारक धितालले प्रस्तुतिकरण गर्नुभएको थियो । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप) तथा जागृति बाल तथा युवा सरकार नेपालका अध्यक्ष तिलोतम पौडेलले “विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, ” कुनै पनि बहानामा बालबालिकाको अधिकार हनन हुन नहुने कुरामा जोड दिँदै बालबालिकामा लगानी वृद्धि गर्न बाल संरक्षण प्रणालीलाई व्यवस्थित गर्न बालमैत्री पोषणमैत्री, लैङ्गिकमैत्री जस्ता शासनलाई प्रवर्द्धन गर्दै बालबालिकामा लगानी वृद्धि गर्ने कुरामा जोड दिनुभएको थियो। उहाँले बालबालिकाको निम्ति उच्चस्तरीय आयोग वा संयन्त्रको स्थापना र बालबालिकालाई राष्ट्रिय गौरवको रुपमा लिइनुपर्ने बालिका तथा किशोरीहरूको सशक्तिकरणमा थप ध्यान दिनुपर्ने कुरामा जोड दिँदै निर्वाचनको क्रममा बालबालिकाको प्रयोग हुन नदिन र विभिन्न समयमा भएका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई कार्यान्वयन गर्न सरकारलाई अपिल गर्नुभएको थियो। राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव इन्द्रादेवी ढकालले निराशा होइन आशा जगाउनु पर्छ भन्दै अहिले भइरहेको लगानी पर्याप्त नभएको नीति कार्यक्रम र बजेटमा मात्र होइन कार्यान्वयन पक्ष पनि उत्तिकै महत्वपूर्ण भएको हुनाले सबै सरोकारवालाहरूको उति नै दायित्व भएको बताउँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।