आज:  २०८२ मंसिर १, सोमबार | Mon, 17, Nov, 2025 Search
FLASH NEWS

मध्यविन्दु–४ मा अनलाइन सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

    प्रकाशित २०८२ मंसिर १, सोमबार (२ घण्टा अघि)


नवलपुर । मध्यविन्दु नगरपालिका–४ मा अनलाइन सुरक्षा, साइबर अपराध तथा डिजिटल क्षमता अभिवृद्धि सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना, क्यान्नालानको सहयोग तथा मध्यविन्दु नगरपालिकाको समन्वयमा मध्यविन्दु नगरपालिकामा सञ्चालित किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत जनता अमर शिद्ध माध्यमिक विद्यालयमा आज कार्यक्रम गरिएको हो ।


जागृति बाल तथा युवा सरोकार नेपालको सिनियर कार्यक्रम अधिकृत राधा देवी बोटेले शहरदेखि गाउँस्तरसम्म बढिरहेको अनलाइन जोखिम र किशोरीहरूको डिजिटल सशक्तीकरण किन आवश्यक छ भन्नेबारे कार्यक्रमको उद्देश्य स्पष्ट गर्नुभयो। उहाँका अनुसार, अनलाइन प्रयोगकर्ताको तीव्र वृद्धि भएकोले साइबर अपराधका नयाँ रूप देखिन थालेको, किशोरकिशोरीहरूमा बढ्दो प्राविधिक पहुँच लाई ध्यानमा राखेर यस्ता कार्यक्रमहरूको आवश्यकता झनै बढेकोले यस्ता खालका कार्यक्रमहरु सुरु गरिएको बताउनुभयो ।

कार्यक्रम वडा बाल सञ्जाल मध्यबिन्दु–४ की सचिव रितु श्रेष्ठको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खोरबहादुर महतोको प्रमुख आतिथ्यमा संचालन गरिएको थियो । अनलाइन सुरक्षा तथा जिम्मेवार डिजिटल प्रयोगका विषयमा केन्द्रित यस कार्यक्रमको सहजीकरण साथी शिक्षक लछ्मा बिकले गर्नुभएको थियो। साथै रितु घर्ती मगर र तिरिया महतोले सह–सहजकर्ताको भूमिकामा रहेर किशोरकिशोरीलाई व्यावहारिक रूपमा आवश्यक पर्ने बिषयहरु विस्तृत रूपमा प्रस्तुत गर्नुभएको थियो।


रितु घर्ती मगरले डिजिटल प्लेटफर्ममा सुरक्षित रहने तरिकाहरू सरल भाषामा व्याख्या गर्नुभयो। उहाँले विशेषत सुरक्षित पासवर्ड प्रयोग गर्ने, अपरिचित लिंक, संदेश वा अनलाइन साथीप्रति सतर्क रहने, व्यक्तिगत विवरण (फोटो, ठेगाना, विद्यालय, अभिभावकको जानकारी) अनावश्यक रूपमा नबाँड्ने, सामाजिक सञ्जालमा गोपनीयता सेटिङ सही राख्ने, अनलाइन दुव्र्यवहारको सामना गर्दा कसलाई र कसरी जानकारी गराउने भन्ने बारेमा सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै किशोरी अभियन्ता तिरिया महतोले साइबर अपराधका प्रकार, दुष्परिणाम र नेपालमा लागु हुने कानुनी प्रावधानहरूबारे विस्तृत जानकारी दिनुभयो।उहाँले विशेष गरी साईबर बुलिइङ, ह्याकिङ, फेक आइडी, आर्थिक ठगी, गोपनीयता भंग र तस्वीर दुरुपयोगर घटेमा कहाँ उजुरी दिने र के कागजात आवश्यक पर्छ भन्ने बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जनता अमर शिद्ध माध्यमिक विद्यालयका बाल सञ्जालका फोकल शिक्षक रामकुमारी थनेत, शिक्षक मीना देवी चौधरी, सामाजिक परिचालिका रुपा काफ्लेलगायत विद्यालयका ३० जनाभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Write your Comment