सार्वजनिक मञ्चहरूमा भाषण गर्ने नेताहरू, बौद्धिकहरू, र नीतिनिर्माताहरू युवाको बखान गर्दा सधैं एउटै कुरा दोहोर्याउँछन् “युवा देशको भविष्य हो”, “युवाशक्ति विकासको मेरुदण्ड हो”, “युवाले देश बनाउँछ”। सुन्दा त मिठो लाग्छ, तर यो वाक्यांश अहिले नेपालमा यति खोक्रो भइसकेको छ कि सुनिँदा पनि व्यङ्ग्य झैँ लाग्न थालेको छ।
युवाशक्ति विना विकास सम्भव छैन भन्ने कुरा संसारभर मान्यता प्राप्त सत्य हो। तर विडम्बना, नेपालमा यही सत्यको मूल्य बुझेर पनि व्यवहारमा संवेदनशीलता देखिँदैन। सरकार, राजनीतिक दल, र नीति–कार्यक्रम सबैमा युवाप्रतिको व्यवहार “घाम देख्दा छाता ओढ्ने” जस्तो देखिन्छ।
पहिलेका पुस्ताले गाउँमै खेतीपाती, सानो–ठूलो व्यापार, र सामुदायिक काममा भविष्य खोज्थे। तर अहिलेका युवाले गाउँलाई मात्र होइन, सहरलाई पनि अस्थायी वासस्थान मानेका छन्। नेपालका धेरै युवाहरूको जीवनयात्रा गाउँको माटोमा सुरु हुन्छ तर सपनाहरू भने सीमित रहँदैनन्। शिक्षा, रोजगारी र राम्रो जीवनको खोजीमा उनीहरू आफ्नो गाउँ, परिवार र बाल्यस्मृतिहरू छोडेर शहर छिर्छन्। शहरको भीडभाड, चम्किला बत्ती र ठूलो सम्भावनाको कल्पनाले उनीहरूलाई अगाडि बढाउँछ। तर, यो यात्रा मात्र भौतिक स्थानान्तरण होइन, जीवनको ठूलो मोड हो, जहाँ उनीहरूले आफूलाई नयाँ वातावरणमा ढाल्नु पर्छ, संस्कृतिको टकराव भोग्नु पर्छ, र ‘गाउँको मान्छे’ भन्ने ट्यागसँग लड्नु पर्छ।
युवाशक्ति विना विकास सम्भव छैन भन्ने कुरा संसारभर मान्यता प्राप्त सत्य हो। तर विडम्बना, नेपालमा यही सत्यको मूल्य बुझेर पनि व्यवहारमा संवेदनशीलता देखिँदैन। सरकार, राजनीतिक दल, र नीति–कार्यक्रम सबैमा युवाप्रतिको व्यवहार “घाम देख्दा छाता ओढ्ने” जस्तो देखिन्छ।
शहरमा पुगेपछि सुरुवाती दिनहरू उत्साहपूर्ण लाग्छन्, तर बिस्तारै वास्तविकता कठोर भएर आउँछ। उच्च प्रतिस्पर्धा, पहुँच र सञ्जाल (नेटवर्क) नभएकाले रोजगारीका ढोकाहरू धेरैका लागि बन्दजस्तै हुन्छन्। केही वर्ष प्रयास गर्दै गर्दा, आर्थिक दबाब र पारिवारिक अपेक्षाहरूले उनीहरूलाई अर्को विकल्प सोच्न बाध्य पार्छ। यही विन्दुमा, ‘देशमा के हुन्छ र?’ भन्ने निराश प्रश्नले जन्म लिन्छ, र त्यसको उत्तर प्रायः विदेशतिरको बाटो बन्ने गरेको छ।
अब कुरा गरौ बिदेश जाने र गएर फर्किने हरुको अवस्था- विदेशबाट फर्केका धेरै युवाहरू आफ्ना सीप, पूँजी र अनुभव लिएर उद्यम गर्न चाहन्छन्, तर नेपालमा उद्यमशीलताको बाटो सजिलो छैन। अनावश्यक कागजी झन्झट, कार्यालयको ढोका-ढोकामा धक्काधक्की, घूसखोरीको माग, अनि राजनीतिक अस्थिरताले उनीहरूको उत्साह चुसिदिन्छ। केहीले त आफ्नो पूँजी नै गुमाएर निराश भएर फेरि विदेश फर्कनुपर्ने स्थिति भोग्छन्। यो चक्र यति तीव्र छ कि गाउँका खेत बाँझा छन्, शहर बेरोजगारको लाइनले भरिएका छन्, र विदेशमा नेपाली युवाको भीड यति बाक्लो छ कि कतिपय मुलुकका एयरपोर्टमा नेपाली भाषा मज्जाले सुन्न पाइन्छ।
हरेक वर्ष नेपालको श्रम बजारमा करिब ४/४.५ लाख नयाँ युवा प्रवेश गर्छन्। तर तीमध्ये साढे ३ लाखभन्दा बढी विदेशतिर उड्छन्।
पढाइका लागि मात्र गत वर्ष १ लाख भन्दा बढी एनओसी (No Objection Certificate) शिक्षा मन्त्रालयले जारी गर्यो। यो भनेको दिनको औसत २७३ भन्दा बढी युवाले नेपाल छाड्ने हो।
यो चक्र यति तीव्र छ कि गाउँका खेत बाँझा छन्, शहर बेरोजगारको लाइनले भरिएका छन्, र विदेशमा नेपाली युवाको भीड यति बाक्लो छ कि कतिपय मुलुकका एयरपोर्टमा नेपाली भाषा मज्जाले सुन्न पाइन्छ।
विदेश जानेमध्ये धेरैजसो स्थायी रुपमा उतै बस्ने मनसाय राख्छन्। दीर्घकालीन रूपमा यसले नेपालको श्रम शक्ति मात्र होइन, सीप र पुँजी दुवैको क्षरण गरिरहेको छ। युवा पलायनको मूल कारण केवल बेरोजगारी होइन, राजनीतिक अस्थिरता र अविश्वास पनि हो। नेपालको राजनीतिमा दलहरूबीचको द्वन्द्व र संसदमा बारम्बार हुने अवरोधहरूले सरकारलाई छोटो समयका लागि मात्र टिक्न दिन्छ। यस्तो अस्थिरताको कारण युवा वर्गमा निरन्तर निराशा र अविश्वास बढ्दै गएको छ। जब सरकार स्थिर रहँदैन, तब दीर्घकालीन नीति बनाउन र कार्यान्वयन गर्न सकिँदैन। यसले युवामा “कुनै पनि सुधार हुँदैन” भन्ने भावना गहिरो हुन्छ र उनीहरूको देशप्रतिको आशा कमजोर हुन्छ।
चाहे केन्द्रीय सरकारले योजना बनाए पनि त्यो स्थानीय तहसम्म प्रभावकारी रूपमा नपुग्दा युवालाई सिधा लाभ पुग्न सक्दैन। गाउँ र सहरका स्थानीय तहहरूले पनि रोजगार सिर्जना र उद्यमशीलताको विकासमा प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ। तर, यी तहसम्म पर्याप्त स्रोत, क्षमता र मनसाय नहुँदा योजना अलपत्र रहन्छन् र युवाहरूलाई प्रत्यक्ष रोजगारीको अवसर मिल्दैन।
नीति त बनाइन्छ, तर त्यसलाई व्यवहारमा उतार्न मनसाय र क्षमता दुवै कमजोर छन्। यसले गर्दा बजेट र कार्यक्रमहरू कागजमै सीमित रहन्छन्। जब समयमै काम हुँदैन, तब युवाको विश्वास झनै टुट्छ र उनीहरू विदेश जाने सोचनै अन्तिम बिकल्प हो भन्ने लाग्छ।
राजनीतिक र प्रशासनिक प्रणालीमा भ्रष्टाचार र नातावाद प्रबल भएको कारण, योग्य, मेहनती र प्रतिभाशाली युवाहरू अवसरबाट वञ्चित भइरहेका छन्। इमानदार युवाले सहजै काम पाउन सक्दैनन्, तर नातेदार वा दलका समर्थकहरू पद र अवसरमा पुग्छन्। यसले गर्दा युवाहरूको मनोबल घट्छ र तिनीहरू पलायनलाई नै विकल्प ठान्न थाल्छन्।
राजनीतिक नेतृत्वले युवालाई भाषणको विषय मात्र बनाएको छ, प्राथमिकताको सूचीमा होइन। हुनत रेमिट्यान्स अहिले नेपालको अर्थतन्त्रको ठूलो भरोशा हो, कुल ग्राहस्थ उत्पादनको करिब २९ प्रतिसत । तर यो आधार दिगो छैन।
रेमिट्यान्सले तत्काल खर्च त धान्छ, तर देशको उत्पादन क्षमतामा योगदान नगरी दीर्घकालमा अर्थतन्त्रलाई परनिर्भर र कमजोर बनाउँछ।
अहिलेको जनसांख्यिक लाभ (१५–५९ वर्ष उमेर समूहको ६१.९६% जनसंख्या) ३५ वर्षमा समाप्त हुनेछ। त्यो समयसम्म पनि यदि युवालाई स्वदेशमै अड्याउन सकिएन भने नेपाल बुढ्यौलीतर्फ धकेलिनेछ, जसको अर्थ श्रम शक्ति आयात गर्ने अवस्था आउन सक्छ।
अब के गर्न सकियला त?
नेपालका युवाहरूलाई स्वदेशमै कामको अवसर दिन कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि र साना–मझौला उद्योगलाई प्राथमिकता दिन सकिन्छ। कृषिमा आधुनिक प्रविधि र उत्पादनशक्ति वृद्धि गरी यसलाई व्यावसायिक बनाउन सकिन्छ, जसले गाउँका युवालाई रोजगारी र आयको स्रोत प्रदान गर्नेछ। पर्यटन क्षेत्रलाई सांस्कृतिक, प्राकृतिक र साहसिक पक्षबाट विकास गरी स्थानीय रोजगारी सिर्जना गर्न सकिन्छ। जलविद्युत् र नवीकरणीय ऊर्जा परियोजनामा लगानी बढाएर युवालाई प्राविधिक तथा व्यवस्थापकीय रोजगारीको अवसर उपलब्ध गराउन सकिन्छ। डिजिटल नेपाल अभियानलाई तीव्र बनाउँदै सूचना प्रविधि क्षेत्रमा युवालाई रोजगारको पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकता दिइनु आवश्यक छ। साथै, स्थानीय कच्चा पदार्थ र सीपलाई उपयोग गरेर साना र मझौला उद्योग स्थापना गरी उत्पादन र रोजगारी दुवैमा वृद्धि गरिनुपर्छ।
युवाहरूलाई उद्यमशीलता तर्फ आकर्षित गर्न सरकारले विशेष सुविधा र सहुलियत दिन सक्छ। बैंक तथा वित्तीय संस्थाहरूले युवा उद्यमीलाई सजिलै र सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्नेछ। नयाँ व्यवसाय सञ्चालन गर्ने युवालाई कर छुट र दीर्घकालीन प्रोत्साहन नीति लागू गरेर हौसला बढाउनु आवश्यक छ। उत्पादन र सेवाको सहज बजार पहुँचका लागि सहकारी, व्यापार मेला र अनलाइन प्लेटफर्महरू मार्फत युवालाई बजारमा जोड्नुपर्छ। त्यस्तै, उद्यमीहरूलाई व्यवसाय सञ्चालनका लागि प्रविधि, मार्केटिङ र व्यवस्थापन सम्बन्धी प्रशिक्षण र सल्लाहकार सेवा उपलब्ध गराउनु अत्यावश्यक छ।
विश्व बजारसँग प्रतिस्पर्धा गर्न युवालाई समकालीन र व्यावहारिक सीप प्रदान गर्नुपर्छ। कम्प्युटर, मेकानिकल, इलेक्ट्रोनिक्स, कृषि प्रविधि र डिजिटल मिडियामा दीर्घकालीन तालिमहरू सञ्चालन गरी उनीहरूको दक्षता अभिवृद्धि गर्न सकिन्छ। अन्तर्राष्ट्रिय भाषा सिकाउने कार्यक्रमहरू सञ्चालन गरेर अंग्रेजी, चिनियाँ, जापानीजस्ता भाषा सिकाउन आवश्यक छ। उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिम केन्द्रहरू स्थापना गरिनुपर्छ। साथै, परिवर्तनशील बजार र प्रविधि अनुसार नयाँ तालिम र पुनःप्रशिक्षण कार्यक्रम निरन्तर चलाउनुपर्छ।
राजनीतिक अस्थिरता र अविश्वास अन्त्य गरी युवाको भविष्य सुरक्षित बनाउनु अत्यावश्यक छ। सरकारले निरन्तरता सहित दीर्घकालीन नीति निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ। पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ रोक्नुपर्छ। सबै युवालाई राजनीति, प्रशासन, शिक्षा र रोजगारमा समान अवसर दिने वातावरण तयार गर्नु आवश्यक छ। युवालाई निर्णय प्रक्रियामा सहभागी गराएर उनीहरूको आवाज सुन्ने र नीति निर्माणमा समावेश गर्ने व्यवस्था गर्नुपर्छ। यसरी मात्र युवा शक्ति स्वदेशमै टिकाउन सकिनेछ र देशको दिगो विकास सुनिश्चित हुनेछ।
नेपाललाई स्वदेशमै बनाउन सक्ने हात यतै राखौं, नत्र ‘देश बनाउने सपना’ अर्को पुस्ताले इतिहासको किताबमै पढ्नेछ।
देशको मेरुदण्ड भत्किँदा शरीर उभिन सक्दैन, त्यसरी नै युवाशक्ति पलायन हुँदा राष्ट्रको भविष्य टिक्दैन। आज पनि यदि सरकारले “युवालाई स्वदेशमै अड्याउने” ठोस र तत्काल कदम चालेन भने, गाउँले बुढाबुढी मात्र रहनेछन्, शहरले पनि आफ्नो कार्यशक्ति गुमाउनेछ, र नेपालको नक्सा त रहला तर आत्मा बाहिरिसकेको हुनेछ।
नेपाललाई स्वदेशमै बनाउन सक्ने हात यतै राखौं, नत्र ‘देश बनाउने सपना’ अर्को पुस्ताले इतिहासको किताबमै पढ्नेछ।