अविनाश पन्थी
आजकाल गाँउ सहर जताततै सुरक्षाका लागि होस् वा उज्यालो गाँउ/नगर नारालाई सार्थक रुप दिनका लागि होस् या सडक बत्तीका योजना कार्यान्वयन का लागि।सबै प्रहर प्रसस्तै उज्यालो देख्न पाइन्छ। यस विषयका छलफल र योजना बुन्ने काम भैरहेको सुन्न पनि पाइन्छ।यसो भनिरहँदा यसले पर्यावरणमा पार्ने असर र यसको दिर्घकालिन व्यवस्थापनमा भने खासै चासो र विश्लेषण हुने गरेको पाइदैन।सडक बत्ती र अन्य कृत्रिम प्रकाशका स्रोतहरूले गर्दा हुने प्रकाश प्रदूषण (Light Pollution) ले समग्र पर्यावरणीय चक्र (Ecological Cycle) का साथै विशेषतः चराहरूको जीवनचक्रमा गहिरो र नकारात्मक असर पार्छ।यसका मुख्य प्रभावहरू यस्ता पाइन्छन्।
बसाइँसराइमा अवरोध (Disruption of Migration)
धेरैजसो चराहरू रातको समयमा ताराहरू, चन्द्रमा र पृथ्वीको चुम्बकीय क्षेत्रको सहायताले बसाइँसराइ गर्छन्।कृत्रिम प्रकाश, विशेषगरी सडक बत्ती र अग्ला भवनका बत्तीहरूले उनीहरूलाई भ्रमित पार्छ।यसले गर्दा दिशानिर्देशमा कठिनाइ हुन सक्छ।आफ्नो सही मार्ग पहिल्याउन सक्दैनन् र गलत दिशातिर जान सक्छन्। प्रकाशका कारण चराहरु आकर्षित भई बारम्बार एउटै ठाउँमा घुमिरहन सक्छन्।जसले उनीहरूको महत्त्वपूर्ण ऊर्जा खेर जान्छ र उनीहरू कमजोर भई शिकारीको सिकार बन्न सक्छन्।आफ्नो गन्तव्यसम्म पुग्न सक्दैनन्। सहरमा रहेका चम्किला बत्तीहरूले चराहरूलाई आकर्षित गर्छ र उनीहरू भवन, टावर वा अन्य संरचनाहरूसँग ठोक्किएर मर्ने सम्भावना बढ्छ।
प्राकृतिक व्यवहारमा परिवर्तन (Changes in Natural Behavior)
प्रकाश प्रदूषणले चराहरूको दैनिक र मौसमी व्यवहारलाई असर गर्छ।लामो समयसम्मको कृत्रिम प्रकाशले चराहरूको हर्मोनमा परिवर्तन ल्याउन सक्छ।जसले उनीहरूको प्रजनन चक्र (Breeding Cycle) लाई असर गर्छ।यसले गर्दा अण्डा पार्ने र बच्चा हुर्काउने समय बिग्रन जान्छ। केही चराहरू रातमा शिकार गर्छन् भने केही चराहरू रातमा सुत्छन्।कृत्रिम प्रकाशले रातमा शिकार गर्ने चराहरूको शिकार गर्ने क्षमतालाई असर पार्छ।त्यस्तै, बढी उज्यालोले उनीहरूलाई शिकारीहरूबाट लुक्न गाह्रो बनाउँछ।केही भाले चराहरू बिहान सबेरै गाउन सुरु गर्छन्।कृत्रिम प्रकाशले उनीहरूलाई दिन सुरु भएको भ्रम दिलाएर समयभन्दा अगाडि नै गाउन प्रोत्साहित गर्न सक्छ।उनीहरूको ऊर्जा खर्च बढाउँछ र प्राकृतिक ताललाई बिथोल्छ।
वासस्थानको गुणस्तरमा ह्रास (Degradation of Habitat Quality)
प्रकाश प्रदूषणले चराहरूको वासस्थानलाई अप्रत्यक्ष रूपमा पनि असर गर्छ।प्रकाशतर्फ धेरै कीराहरू आकर्षित हुँदा तिनीहरू सडक बत्तीको वरिपरि जम्मा हुन्छन् र सडकमा मर्छन्।जसका कारण चराहरूको आहारको महत्त्वपूर्ण हिस्सा मानिने यी कीराहरूको संख्यामा कमी आउँछ।कृत्रिम प्रकाशले बोटबिरुवाको वृद्धि र फूल फुल्ने प्रक्रियालाई समेत असर गर्न सक्छ। जसले चराहरूको लागि खाना र वासस्थानको उपलब्धतामा कमी ल्याउँछ।
सडक बत्ती र प्रकाश प्रदूषणले चराहरूको प्राकृतिक व्यवहार, बसाइँसराइ र प्रजनन चक्रमा गम्भीर असर पुर्याउँछ, जसले अन्ततः तिनीहरूको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा गर्न सक्छ।यसको रोकथामका लागि तत्काल कदम चाल्नु अपरिहार्य छ।प्रकाश प्रदूषण कम गर्ने उपायहरू वातावरणीय सन्तुलन कायम राख्नका लागि निकै महत्त्वपूर्ण छन्।
१. स्मार्ट प्रकाश व्यवस्था (Smart Lighting Systems) : बत्ती जहाँ र जतिबेला आवश्यक छ, त्यतिबेला मात्र बाल्ने प्रविधि अपनाउनुपर्छ।यसका लागि मोसन सेन्सर (Motion Sensor) वा टाइम सेन्सर (Timer Sensor) जडान गर्न सकिन्छ।उदाहरणका लागि सडकमा मानिस वा गाडी नहुँदा बत्तीको उज्यालो स्वतः कम हुने वा निभ्ने व्यवस्था मिलाउन सकिन्छ। आवश्यकता अनुसार बत्तीको उज्यालो घटाउन मिल्ने व्यवस्था गर्नुपर्छ।रातिको समयमा वा सवारी साधनको चाप कम हुने बेला बत्तीको उज्यालो कम गर्न सकिन्छ। प्रकाश सिधा तलतिर मात्र पर्ने गरी डिजाइन गरिएका शिल्डेड फिक्स्चर (Shielded Fixtures) प्रयोग गर्नुपर्छ।यसले प्रकाश अनावश्यक रूपमा आकाशतिर फैलनबाट रोक्छ।यस्ता बत्तीहरूले सडक वा निश्चित क्षेत्रमा मात्र उज्यालो पार्छन्।जसले गर्दा प्रकाश प्रदुषणमा कमी आउँछ।
२. प्रकाशको प्रकार र रङ्गमा सुधार (Improved Light Type and Color) : निलो प्रकाशले चरा र अन्य जीवहरूलाई बढी असर गर्ने भएकाले न्यानो रङ्गको प्रकाश (Warm-colored light) जस्तैः पहेँलो वा एम्बर रङ्गको LED बत्ती प्रयोग गर्नुपर्छ।नीलो प्रकाशले जीवहरूको प्राकृतिक जैविक घडी (Circadian Rhythm) लाई बिथोल्ने गर्छ।परम्परागत सोडियम वा ह्यालाइड बत्तीभन्दा LED बत्तीहरू ऊर्जा कम खपत गर्ने हुन्छन् र यिनको उज्यालोलाई सजिलै नियन्त्रण गर्न सकिन्छ।कम वाटका LED बत्तीहरू प्रयोग गरेर पनि पर्याप्त उज्यालो दिन सकिन्छ।
३. अनावश्यक प्रकाशको न्यूनीकरण (Minimizing Unnecessary Light) : भवनका बाहिरी भागमा लगाइएका अनावश्यक सजावटका बत्तीहरू, विज्ञापनका होर्डिङ बोर्डहरू र कार्यालयका बत्तीहरू रातको समयमा प्रयोग नहुँदा निभाउनुपर्छ।विशेषगरी राति बसाइँसराइ गर्ने चराहरूको समयमा प्रकाश न्यूनिकरणलाई प्राथमिकता दिनुपर्छ।सार्वजनिक स्थानहरू, जस्तैः पार्क वा खुला ठाउँहरूमा आवश्यकताभन्दा बढी उज्यालो प्रयोग गर्नुको सट्टा कम पावरका बत्तीहरू प्रयोग गर्न सकिन्छ।
४. जनचेतना र नीतिगत सुधार (Public Awareness and Policy Reform) : प्रकाश प्रदूषणका वातावरणीय असरबारे सर्वसाधारणलाई जानकारी गराउनु जरुरी हुन्छ।विद्यालय, समुदाय र सञ्चार माध्यमबाट यस विषयमा चेतना फैलाउन सकिन्छ।सरकारले प्रकाश प्रदूषण नियन्त्रणका लागि स्पष्ट नीति नियम बनाउनुपर्छ।उदाहरणका लागि, भवन निर्माण संहितामा प्रकाश प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्डहरू समावेश गर्न सकिन्छ।नयाँ सहरी योजनाहरूमा प्रकाश प्रदूषणको वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्न सकिन्छ।
हामीलाई चाहिने भन्दा वढी प्रकाश प्रकाश प्रदूषण हो।यसले वातावरण र पारिस्थितिक प्रणालीमा नकारात्मक असर पार्दछ। माथि उल्लिखित उपायहरू अपनाएर हामी प्रकाश प्रदूषणलाई कम गर्दै चरा तथा अन्य जीवजन्तुको प्राकृतिक जीवनचक्रलाई सहयोग गर्नु पर्दछ।यसरी पृथ्वीलाई मानव जातीको आवश्यकता पुरा गर्ने स्रोत मात्र नभई सबै जीवजन्तु र प्राणीको साझा बासस्थान बनाउन सक्छौँ।
( लेखक पन्थी देवचुली नगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख हुन् ।)