अविनाश पन्थी । स्थानीय तह जनतालाई नजिकबाट सेवा प्रवाह गर्ने सरकार हो । यसले राज्यबाट नागरिकलाई प्रदान गरिने करिब सबै किसिमका सेवा दिंदै आएको छ।
नेपालको संविधान २०७२ को अनुसूची-८ मा स्थानीय तहका एकल अधिकारको सूचीको व्यवस्थाबाट यसको कार्य क्षेत्र स्पष्ट हुन्छ।स्थानीय सरकारहरुले पछिल्लो समय सेवा प्रवाहलाई प्रभावकारी र सहज बनाउन विभिन्न उपाय अपनाइरहेका छन्।सो मध्येको एक नागरिक सहायता कक्ष हो।
नागरिक सहायता कक्ष भनेको सेवाग्राहीहरुलाई सरकारी वा सार्वजनिक सेवा सहज र सरल तरिकाले लिनका लागि स्थापना गरिएको विशेष कक्ष हो।यसले नागरिकलाई सरकारी वा सार्वजनिक सेवालाई एकल विन्दु वा एकीकृत तवले सेवा प्रवाह गर्न मद्दत गर्दछ।जसबाट नागरिकले कुन सेवा कँहा, कसरी र कहिले लिन सकिन्छ भन्ने जानकारी दिने, सेवा प्रक्रियामा सहजीकरण गर्नुका साथै आवश्यक सहयोग प्रदान गर्दछ।
नागरिक सहायता कक्षको मुख्य उद्देश्य नागरिकहरुलाई सरकारी सेवा तथा सुविधाहरुमा सहज पहुँच पुर्याउनु तथा उनीहरुका गुनासा तथा समस्याहरुको समाधानमा सहयोग गर्नु नै हो। यसका साथै;
– सरकारी सेवा, सुविधाहरु, प्रक्रियाहरु, आवश्यक कागजातहरु र लाग्ने शुल्कबारे सही र स्पष्ट जानकारी गराउनु,
– नागरिकका गुनासो, सुझाव र समस्याहरु सुन्नु,
– अशक्त्त, अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक र अन्य कमजोर वर्गका सेवाग्राहीहरुलाई सेवा लिन आवश्यक भौतिक तथा प्राविधिक सहयोग गर्नु,
– सरकारी सेवालाई पारदर्शी र कर्मचारी तथा पदाधिकारीहरुलाई जबाफदेही बनाउनु,
– सरल, सुलभ र गुणस्तरीय सेवा प्रदान गरी स्थानीय सरकारप्रति नागरिकको विश्वास र अपनत्व बढाउनु,
– प्रशासनिक कार्यविधीहरुलाई नियमित र व्यवस्थित गरी सुशासन कायम गर्न मद्दत पुर्याउनु।
स्थानीय तहमा नागरिक सहायता कक्षको स्थापनाले नागरिक र सरकारबीचको सम्बन्धलाई सुदृढ बनाई सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्दछ।यसको महत्वलाई देहायका बुँदाहरुले थप स्पष्ट पार्न सकिन्छ;
– स्थानीय तहका सेवाहरु, योजनाहरु, प्रक्रिया लगायत अन्य आवश्यक जानकारीहरु नागरिकलाई सहज रुपमा उपलब्ध गराउँछ।
– स्थानीय तहबाट प्राप्त गर्ने सेवाका सम्बन्धमा भएका गुनासो, समस्या भएमा सम्बन्धित शाखा वा अधिकारी समक्ष पुर्याउँछ।
– सेवा लिंदा आवश्यक पर्ने प्रक्रिया पुरा गर्न नागरिकलाई अन्योल भएमा कागजात तयारी, फाराम भर्ने, मार्गदर्शन गर्ने लगायतका कार्यमा सहयोग गर्दछ।
– नागरिक प्रतिक्रिया संकलन गरेर स्थानीय तहको सेवा प्रवाहमा सुधार गर्न मद्दत गर्दछ।
– नागरिकलाई सरकारसँग जोड्ने र उनीहरुको आवाज सुन्ने एउटा सशक्त माध्यम प्रदान गर्दछ।
– नागरिकमैत्री शासन प्रणालीको विकासमा टेवा पुर्याउँछ।
स्थानीय तहमा नागरिक सहायता कक्षको स्थापना र सञ्चालनका धेरै महत्वपूर्ण र सकारात्मक पक्ष हुँदाहुँदै पनि यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन केही चुनौतीहरु रहेका छन्।
– दक्ष र पर्याप्त कर्मचारीको व्यवस्थापन गर्नु,
– आवश्यक पूर्वाधार र स्रोत साधनको व्यवस्था गर्नु,
– कर्मचारीका लागि तालिम लगायतका क्षमता विकासका कार्यक्रमको निरन्तर सञ्चालन गर्नु,
– प्रविधि, पूर्वाधार लगायतका सफ्टवेयर र उपकरणको उपलब्ध गराउनु,
– थप जनशक्ति र पूर्वाधारका लागि बजेटको व्यवस्था गर्नु,
– सेवा प्रवाहलाई डिजिटलाइजेसन गर्नु,
– समयमै गुनासो सुनुवाई र समस्याको समाधान गर्नु,
– नागरिक सहायता कक्षको निरन्तर सञ्चालन गर्नु।
नागरिक सहायता कक्ष सेवा प्रवाहको मेरुदण्ड हो। जसले सुशासन प्रवर्द्धन गर्न र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ। स्थानीय सरकार जो दिनहुँ नगारिकलाई विभिन्न प्रकारका सेवा दिन्छ। जसले नागरिक र राज्यको सम्बन्ध सेतु निर्माण गर्छ । नागरिक सहायता कक्ष स्थापना गर्नु अति आवश्यक देखिन्छ ।
( लेखक पन्थी देवचुली नगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख हुन् ।)