आज:  २०८२ अषाढ २, सोमबार | Mon, 16, Jun, 2025 Search
FLASH NEWS

विपद् व्यवस्थापन

    प्रकाशित २०८२ जेष्ठ ४, आईतबार (४ हफ्ता अघि)


अविनाश पन्थी ।
विपद् भन्नाले कुनै स्थान विशेषमा अप्रत्यासित घटना वा आपतकालिन परिस्थिति सिर्जना भई जनधनको क्षति, जीवनयापन र वातावरणमा प्रतिकूल असर पार्ने प्राकृतिक वा गैर प्राकृतिक संकटको अवस्था बुझिन्छ । बाढी, पहिरो, भूँईचालो, चट्याङ्‌ग, डढेलो, हुरी बतास, खडेरी आदि प्राकृतिक विपद् हुन्।मानवीय क्रियाकलाप वा दुर्घटनाबाट हुने महामारी, आगलागी बिस्फोट, औद्योगिक दुर्घटना आदि गैरप्राकृतिक विपद् हुन् ।

समयमै विपद्‌को उचित व्यवस्थापन हुन सकेन भने जनधनको ठूलो क्षति हुनजान्छ । विपद् व्यवस्थापन भनेको विपद्‌को जोखिम न्यूनीकरण गर्ने, विपद् आईपरेपछि त्यसको प्रभावलाई कम गर्ने र प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने प्रक्रिया हो।यसले विपद् आउन नदिन पूर्व तयारी, जोखिमको मूल्याङ्‍कन, रोकथाम, तत्काल प्रतिक्रिया र पछि पुनर्स्थापना लाई समेट्छ।यसलाई मूख्यतया चार चरणमा बिभाजन गरेर बुझ्न सकिन्छः

१. न्यूनीकरणः यो चरणमा विपद् आउन नदिन वा त्यसको प्रभाव कम गर्न गरिने पूर्व तयारीका कार्यहरु पर्दछन् ।

– सम्भावित जोखिम पहिचान गरी मूल्याङ्‌कन गर्ने ।
– भवन निर्माण संहिताको कडाईका साथ पालना गर्ने ।
– बाढी पहिरोको जोखिम भएका स्थानमा बस्ती विकासलाई नियन्त्रण गर्ने ।
– विपद् पूर्व चेतावनी सूचना प्रणालीको विकास र संचालन गर्ने ।
– संरचनात्मक संरक्षणका उपायहरु जस्तै; तटबन्ध निर्माण, पहिरो नियन्त्रणका लागि पर्खाल निर्माण, खोलाका उच्च सतहको च्यानलाईज र थुप्रिएर रहेका नदिजन्य पदार्थको व्यवस्थापन गर्नेन।
– समुदायलाई विपद् जोखिमबारे जानकारी दिन जनचेतना अभिवृद्धिका कार्यक्रम संचालन गर्ने ।

२. तयारीः यो चरणमा विपद् आइपरेमा त्यसको सामना गर्न र प्रभावकारी प्रतिकार्य गर्न गरिने तयारीहरु पर्दछन् ।
– विपद् व्यवस्थापन योजना तर्जुमा र नियमित अभ्यास गर्ने ।
– उद्धार तथा राहत सामग्रीको उचित व्यवस्थापन गर्ने ।
– उद्धारकर्मी, स्वास्थ्यकर्मी, स्वयम्‌सेवक जस्ता तालिम प्राप्त जनशक्ती तयार गर्ने ।
– आपतकालिन संचार प्रणाली स्थापना गर्ने ।
– सुरक्षित आश्रयस्थलको पहिचान र व्यवस्थापन गर्ने ।

३. प्रतिकार्यः यो चरणमा विपद् आईपरेपछि तत्काल गरिने उद्धार, राहत र आधारभूत आवश्यकता परिपूर्तिका कार्यहरु पर्दछन् ।
– विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली परिचालन गरी फसेका मानिसहरुको उद्धार गर्ने ।
– घाईतेहरुको तत्काल उपचारको व्यवस्था गर्ने ।
– खाद्यान्न, पानी, औषधि र अस्थायी आवासको व्यवस्था गर्ने।
– संचार र यातायात सेवालाई सुचारु गर्ने ।
– सुरक्षा व्यवस्था कायम गर्ने ।

४. पुनर्स्थापना र पुनर्निमाणः यो चरणमा विपद्‌ले पुर्‍याएको क्षतिलाई पर्ति गर्दै प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने कार्यहरु पर्दछन् ।
– क्षतिको मूल्याङ्‌कन गर्ने ।
– भत्केका भौतिक संरचनाहरुको पुनर्निमाण गर्ने ।
– जीविकोपार्जनका लागि सहयोग गर्ने ।
– मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने ।
– दीर्घकालिन विकास योजना तर्जुमा गर्ने ।

नेपालमा विपद् व्यवस्थापनका लागि देहायका कानुनी, नीतिगत, संस्थागत र कार्यक्रमगत व्यवस्था रहेका छन्,
– विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४
– विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्य योजनाहरु,
– राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण,
– राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति,
– विपद् व्यवस्थापन कोष,
– विभिन्न पूर्व सूचना प्रणाली र तालिम केन्द्रहरु ।

विपद् व्यवस्थापन एक निरन्तर चलिरहने प्रक्रिया हो । जसमा सरकार, स्थानीय समुदाय, गैरसरकारी संस्थाहरु र अन्तर्राष्ट्रिय निकायहरुको सक्रिय सहभागिता आवश्यक हुन्छ । प्रभावकारी विपद् व्यवस्थापनले जनधनको क्षति कम गर्न र छिटो सामान्य अवस्थामा फर्कन मद्दत गर्दछ। स्थानीय तह विपद् व्यवस्थापनको पहिलो र महत्वपूर्ण आधार हो।विपद्‌को समयमा तत्काल प्रतिक्रिया दिने, पीडितलाई सहयोग गर्ने र पुनर्निमाणको थालनी गर्ने जिम्मेबारी स्थानीय सरकारकै हुन्छ । यसर्थ स्थानीय तहको योजना तर्जुमामा विपद् व्यवस्थापनले महत्व पाउँदै आएको छ।

( लेखक पन्थी देवचुली नगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख हुन् ।)

 

Write your Comment