आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई एक शिक्षकको खुला पत्र

    प्रकाशित २०८१ जेष्ठ १५, मंगलबार (२ महिना अघि)


श्रीमान वि.व्य.स. ज्यू,
भीमसेन आदर्श मा.वि. देवचुली-७ नवलपुर

म यस विद्यालयमा २०७२/०९/१५ देखि मा.वि तृतीय श्रेणीमा गणित शिक्षकको रूपमा र २०७७ भदौ देखि सहायक प्रधानाध्यापकको रूपमा कार्यत शिक्षक हुँ।

मिति २०८१/०१/२५ गते श्री कालिका मा.वि. देवचुली-९ ले मलाई सरुवा सहमति दिएको र उक्त विद्यालयमा मा. वि. को एक मात्र दरवन्दी भएकाले प्रधानाध्यापकको जिम्वेवारी पनि सम्हाल्ने सर्तमा उक्त विद्यालयले मलाई सहमति दिएको थियो । मैले तत्कालै २०८१/०१/२६ गते प्र.अ मार्फत अध्यक्षलाई सम्बोधन गरेर निवेदन पेश गरेको थिए। अध्यक्ष र प्र. अ ले सरुवा सहमती दिते तर केही दिन पर्खन भन्नु भयो । म धैर्य गर्दै गएँ । हरेक दिन साँझ विहान तपाईलाई घरमा नै गएर सहमतीका लागी विन्ति गरें, अनुनय विनय गरें। तपाईले सह‌मति नदिने कुरा कहिल्यै गर्नु भएन । कालिका मा.वि. का वि . व्य.स. अध्यक्ष बुद्धिसागर भुसाल, देवचुली-९का वडा अध्यक्ष बलिराम सापकोटाले तपाइलाई भेट्दा नवराज सर लाई छिट्टै पठाउँ छौ भन्दै आश्वासन दिइ रहनु भयो। मेरो जीवन‌मा विना सोर्स फोर्स आएको यो अवसरलाई ढिला नगर्दिन धेरै अनुनय विनय गरे ।

मलाई लाग्थ्यो म साहुको घरमा ऋण र चुक्ता गर्न बसेको कमलरी हुँ । म त्यसवाट घुटकरा पाउन महाजनकोमा विन्ति गरिरहेकोछु। सिङ्गो नवलपुर वाट मात्र नभइ देशै भरीवाट देवचुली नगरपालिकामा सरुवा भइ आउन-चाहने शिक्षकको लर्को लाग्छ । नवलपुर का शिक्षक का पेशागत सहगठन, शिक्षा शाखा देवचुली र समन्वय इकाइ नवलपुर ले जवाफ दिनु प-यो जिल्लामा भीमसेन आदर्श मा.वि. आउन चाहने शिक्षक नभएकै हुन् ? त्यसो हो भने मलाई चित्त बुझ्छ ।

आदरणीय अध्यक्षज्यु, तपाई रास्वपाका नेता राजन गौतमलाई लिएर मिति २०८१/०२/०९ मा शिक्षामन्त्री सुमना श्रेष्ठलाई भेट्न मन्त्रालय पुग्नु भयो र जिल्लान्तर फुकुवा हुने मिति र नयाँ कार्यविधिको वारेमा सुइको पाएर प्रफुल्ल मुद्रामा विद्यालय फर्कनु भयो । मैले २०८१/०२/११ गते तपाईलाई फोन गरेर मलाई सहमति दिने वा नदिने निर्णय तुरुन्त गरिदिनुस भन्दा तपाइले २०८१/०२/१२ गते वा २०८१/०२/१४ गते सहमति दिने भनि जवाफ दिनु भयो। मैले कृपया छिटो गरी दिनुस, शनिबार निर्णय गरिदिनु होस भन्दा जवाफमा तपाईले हेडसरको श्रीमती बिरामी भएकाले बैठक बस्न नभ्याइने कुरा बताउनुभयो ।

आदरणीय अध्यक्ष ज्यू, मेरो बुबा सिकिस्त बिरामी भएर २०८१/०१/११ गते वैतरणी गरेर अहिले मृत्यु शैयामा छटपटाइरहेको व्यहोरा जानकारी गराउदा तपाइले कहिल्यै सहानुभुति प्रकट गर्नु भएन । शनिबार बैठक बस्न सम्भव नभए आइतवार बैठक बसेर निर्णय दिनुस भन्दा सोमबार जसरी पनि दिन्छु भन्नु भयो । घरमा मन्दिर बनाएर दैनिक पूजापाठ गर्ने सधै रातो टिका लगाएर हिड्‌ने मान्छे सोमबार साइत पारेर लेख्न लाग्नु भयो भन्ने बुझे, हवस भने ।

मलाई अझै तपाइ माथि विश्वास नलागेर २०८१/०२/०९ गते राती १० बजे तपाई कै घरमा बसेर तपाईंकी श्रीमती र मनकामना आधारभुत विद्यालयका वि व्य स अध्यक्ष गोविन्द भुसाललाई साक्षि राखेर जेठ १४ गते १२ बजेभित्र सहमति लेखेर दिने भन्ने बाचा भएको थिये हो की होइन ?

जेठ १४ गते बिहान १० वजे तपाई, मलिनो अनुहार लिएर विद्यालय आउनु भयो, प्र.अ. को कार्यकक्षमा छिरेर मिटिङ बस्नुभयो । यदि तपाइ सच्चा हुनुहुन्थ्यो भने आज मेरो बारेमा नै बैठक बस्दै थियो । म विद्यालयको स.प्र. बैठकका सदस्य नभए पनि अन्तिम घडि हो भनेर बैठकमा बोलाउनु होला भन्ने लागेको थियो तर बोलाउनु भएन म अफिस कोठामा १२ बज्न लाग्यो भन्दै घडि हेर्दै बसी रहे । म बैठकको बाहिर बसेर १२:३० वजे तपाईं लाई फोन गरे फोन उठेन । प्र.अ लाई फोन गरे फोन उठेन म सशंकित भएँ । तपाइहरु सरुवा सहमति दिने निर्णय लेखेर शिक्षा मन्त्रालयको नयाँ कार्यविधि सार्वजनिक हुने प्रतिक्षामा बसि राख्नु भएको रहेछ । जब नयाँ कार्यविधि सामाजिक सञ्जालमा आयो त्यस पश्चात बैठकवाट उठेर मलाई सरुवा सहमति लेख्यौं पनि नभनि सिधै क्यान्टिनतिर हानिनु भयो। कम्तिमा विद्यालयको स.प्र.अ सरुवा भएर जान लागेको छ “हामीले निर्णय लेख्यौं तपाईको प्रतिक्षाको घडी सकियो बधाइ छ” भन्न त सकिन्थ्यो । शिक्षक प्रतिनिधि केशव भुसालले आएर ल वधाई छ भन्नु भयो । म पहिले नै कार्यविधि थाहा पाएर चिन्तामा थिए । मलाइ अचम्म के लाग्यो भने बैठकवाट निस्किएर सम्बन्धित व्यक्तिलाई थाहै नदिइ क्यान्टिनतर्फ जानु, ४ दिन अघि शिक्षा मन्त्रालयवाट सबै चिज थाहा पाएर आइ नियोजित ढङ्ग‌वाट एउटा शिक्षकको वृत्ति विकास‌मा कुठाराघात गर्नु, निवेदन दिएको २१ औं दिनसम्म कुराएर अवसरबाट वञ्चित गराउनु निन्दनिय छ ।

शिक्षकले निवेदन दिएको कति दिन भित्र सरुवा सहमति दिनु पर्ने हो ? त्यसको छिनोफानो देवचुली नगरपालिका शिक्षा शाखाले गरोस । एउटा शिक्षकको वृत्ति विकास वि.व्य.स. अध्यक्ष ले रोक्न सक्ने कठै मेरो देश । मास्टर डिग्री गरेर, १६०० मान्छेसँग प्रतिष्पर्धा गरेर मा.वि. स्थायी शिक्षकको रुपमा १० वर्ष काम गरेको शिक्षकलाई प्र.अ. बन्ने अवसरवाट विमुख गराउन सफल तपाईलाई सलाम छ। तपाईंको सदैव भलो होस । तपाई जस्ता अध्यक्ष अरुले व्यहोर्न नपरोस् । राजनितिक पार्टिका झोले भएर खानुपर्ने शिक्षण पेशा कसैले नअँगालोस ।

नवराज घिमिरे
भीमसेन आदर्श माध्यमिक विद्यालय देवचुली-७, नवलपुर

Write your Comment