आज:  २०८१ श्रावण ५, शनिबार | Sat, 20, Jul, 2024 Search
FLASH NEWS

संसारको अन्त्य हुँदैछ भनेर तपाईंको बच्चालाई कसरी भन्ने?

    प्रकाशित २०७८ पौष १२, सोमबार (२ साल अघि)


मेरो बच्चा आज, यी शब्द लेख्दै गर्दा, चार महिना पुग्यो। केही हप्तादेखि उसले मुस्कान दिइरहेको छ तर भर्खरै मलाई लाग्दैछ- त्यो मुस्कानले केही अर्थ राख्न लागेको छ।

ऊ मुस्कुराउँदा कस्तो लाग्छ भनेर बयान गर्न पनि कठिन छ। उसले अब आवाज पनि निकाल्न थालेको छ- कु…, ब्वाह्…आदि।
सास बाहिर फाल्दा हावालाई कस्तो आकार दिएर कस्तो आवाज निकाल्ने, ता कि अरूसित संवाद गर्न सकियोस्, उसको मस्तिष्कले यो मेसो पाउन अझै बाँकी छ।

यो अनुभव अद्भूत रूपमा सम्मोहक छ। तर त्यही सम्मोहन र आश्चर्यबीच ममा अरू भावनाहरूको श्रृंखला प्रवाह हुन्छ- चिन्ता, दोषबोध र भय। र सबैभन्दा बढी शोक।

किनभने, ऊ जति संसार बुझ्न र संवाद गर्न सक्षम हुनेछ, उति नै ऊ त्यस्तो आविष्कारको क्षण नजिक पुग्नेछ जुन म चाहन्थेँ उसले कहिल्यै नभोगोस्। म र उसकी आमाले उसलाई यस्तो संसारमा अस्तित्वमा ल्यायौं जुन संसार मरिरहेको छ।
अहो, क्या अधिकारसहित जन्मेको छ ऊ। कस्तो पाठ पढ्दैछ। पक्कै पनि त्यस्तो पाठ (संसार मरिरहेको छ, हाम्रो पुस्तासँगै हामीले जानीआएको संसार र मानव सभ्यता पनि मरिरहेको छ– अनु.) ले एउटा बालकको जीवनलाई दुई भागमा विभाजन गर्छ- अघि र पछि।

अघि- जब खाना खान सम्भव छ। बिदामा जान सम्भव छ। सिनेमा हेर्न, हाँस्न र पदयात्रामा जान सम्भव छ। कुनै पनि बेला आइलाग्न सक्ने भयावह संकटको छायामा नपरी।

पछि- त्यो सम्भव छैन।

अलि सानै उमेरदेखि जलवायु परिवर्तनबारे जानकार भए पनि मेरो आफ्नै त्यस्तो आविष्कारको क्षण म २४ वर्षको हुँदासम्म आएन। सन् २००१ मा जर्ज डब्लु बुश (तत्कालीन अमेरिकी राष्ट्रपति) ले क्योटो महासन्धिमा (जलवायु परिवर्तन रोक्ने प्रयासस्वरूप तयार गरिएको) हस्ताक्षर नगर्दा म क्रुद्ध भएको सम्झन्छु। प्राथमिक स्कुलको रातीको प्रार्थनामा म सधैं सुरूमा ‘प्लिज स्टप ग्लोबल वार्मिङ’ भनेर मात्रै विश्वशान्ति, परिवारको भलो, भोलिपल्टको परीक्षामा उच्च अंक र त्यति बेला मन पर्ने केटीप्रतिका इच्छाहरू प्रकट गर्थेँ।

तर यो विषयको पूरा बोध मलाई थिएन। ‘अस्तित्वमाथिको खतरा’ वा ‘सामाजिक क्षय’ खाली कुनै गहन अर्थ विनाका शब्द मात्रै लाग्थे। ती शब्द त्यस्तै रहँदा धेरै सहज पनि हुन्थ्यो। त्यसैले किशोरकालमा राजनीतिक मुद्दाहरू उठाउँदा पनि मैले मूलतः जलवायु अभियानलाई तर्काइरहेँ।

हामी सबैलाई सानैदेखि एउटा कुरा सिकाइएको हुन्छ- सूर्यलाई घुरेर नहेर्नू।

जलवायु परिवर्तनको यथार्थ पनि त्यस्तै लाग्थ्यो- आँखाको कुनाबाट झल्याकझुलुक हेर्ने मात्रै।

आखिर म राज्यको संसदमा निर्वाचित भएपछि मेरो आविष्कारको क्षण आयो, जब मैले महसुस गरेँ कि हाम्रो पर्यावरणीय अवस्थाबारे विज्ञानले पत्ता लगाएको यथार्थ पढ्नु र त्यसको सामना गर्नुको विकल्प छैन। जस्तो मलाई डर थियो, जलवायु संकटलाई यथार्थमा हेर्नु नांगो आँखाले सूर्यलाई सिधा हेर्नुजस्तै थियो।

कतिसम्म भने, त्यो क्षणबाट मैले मेरो जीवनका आफूभन्दा बढी उमेरका मानिसहरूप्रति रोषको अनुभव गरेको छु। उनीहरूले त्यति धेरै ‘अघि’ को समयमा मस्ती गरे (धेरैले अझै त्यसो गर्दै छन्)। पछिल्लो समय भने बुढाहरूप्रतिको मेरो रोषको ठाउँ बच्चाहरूप्रतिको खिन्नताले लिएको छ। ती विलक्षण, उत्साही र साहसी ‘जेन जेड’ का युवाहरू जो अढाइ दशकसम्म ‘अघि’ मा पर्खेका कारण मसित रुष्ट छन्।

जसलाई खडेरी, डढेलो, आँधी, ताप लहर र बाढीहरूका श्रृंखलाले बाल्यकालमै त्यस्तो आविष्कारको क्षणमा पुर्‍याइदिएका छन्। जसको नयाँ सामान्य दिनचर्यामै क्षति र वियोग छ।

जसलाई खडेरी, डढेलो, आँधी, ताप लहर र बाढीहरूका श्रृंखलाले बाल्यकालमै त्यस्तो आविष्कारको क्षणमा पुर्‍याइदिएका छन्। जसको नयाँ सामान्य दिनचर्यामै क्षति र वियोग छ।

म यस्तो ठाउँमा कसरी हुन सक्छु, जहाँ नवजात शिशुका लागि त्यो ‘अघि’ को चरण शिशुकालका केही महिना मात्रै टिक्छ? त्यही ठाउँमा उभिएर मलाई मानव इतिहासको यस्तो बिन्दुमा छोराका स्निग्ध र अबोध आँखामा हेर्नुछ, जसलाई मैले अस्तित्वमा ल्याएको छु।

जब मेरी श्रीमतीले सन्तानको इच्छा प्रकट गरिन्, त्यति बेलैदेखि मलाई यो प्रश्नले बिथोलिरहेको छ। जीविका र जिम्मेवारीका अरू पुराना चिन्ताहरू पनि नभएका होइनन्। तर बच्चा राख्नेबारे संवाद गर्न थालेदेखि नै जलवायुको प्रश्नले मलाई सबभन्दा बढी बिथोलेको हो।

म सम्झन्छु, मैले आफूभन्दा बढी उमेरका चलाख, बुद्धिमान र दयालु साथीहरूसित यसबारेमा सल्लाह माग्थेँ। तर मैले खोजेका उत्तर उनीहरूले कहिल्यै दिएनन्।

बारम्बार धेरैले भन्थे, ‘भविष्यको चिन्ता गर्ने तिम्रो पहिलो पुस्ता होइन। हामीले पनि यिनै प्रश्न सोध्थ्यौं, कुनै पनि बेला आणविक नरसंहार हुन सक्ने समयमा कसरी बच्चा हुर्काउने होला? क्युबाको मिसाइल संकट याद छ? जब लुक्ने र भाग्ने तालिमहरू लिन्थ्यौं? तैपनि हामीले परिवार बनायौं, हुर्कायौं। र हामीले हाम्रा बालबच्चालाई शान्तिका लागि काम गर्न सिकायौं।’

पक्कै त्यसमा केही पाठहरू छन्। तर त्यो तुलना आधारभूत रूपमै गलत छ।

कुनै पनि बेला हुन सक्ने प्रलयको साँचो तर सानो सम्भावनाको बोध हुनु डरलाग्दो कुरा हो। तर त्यसको तुलना त्यस्तो प्रलयसित हुन सक्दैन जुन आउँदैछ, निश्चित छ र धेरै हिसाबले सुरू भइसकेको छ।

जलवायु प्रलयको दायरा छ- वायुमण्डल तीन र चार डिग्रीले तात्नुमा आकाश–पातालको फरक छ। चार र पाँच डिग्री तात्नुमा त्यस्तै फरक छ। अनि आज हामीले गर्ने स-साना नीतिगत छनोटले अनगिन्ती जीवनहरूलाई बचाउन वा सिध्याउन सक्नेछन्। तर हाम्रो ग्रहको पर्यावरणीय चक्रमा उल्लेखनीय खलबली भइसकेको छ भनेर बोध गर्नु विशिष्ट रूपले त्रासद छ।

त्यसैले ठूलो जवाफविहीन माथापिच्चीपछि, अहिलेसम्मकै तातो र जंगलमा अभूतपूर्व डढेलो लागेको बर्खायाममा म र श्रीमतीले बच्चा जन्माउने छनोट गर्‍यौं।

मलाई अझै थाहा छैन कसरी त्यो निर्णयको औचित्य पुष्टि गर्ने हो।

जीवनमा मैले अरू धेरै संदिग्ध निर्णयहरू लिएको छु। तर ती सबै मैले आफ्नै लागि लिएको छु र परिणाम पनि आफैंले भोगेको छु। तर श्रीमती र मैले हाम्रो छोरालाई अस्तित्वमा ल्याउने निर्णय गर्‍यौं। अब मलाई पत्तो छैन कि मानव जातिले (पर्यावरणमा) मच्चाएको ताण्डवबारे बुझेपछि त्यो निर्णयका बारेमा उसले के सोच्नेछ।

हरेकचोटिजसो जब म उसलाई हेर्छु, उसको त्यो आविष्कारको क्षण कस्तो हुनेछ भन्ने सोचाइ मेरो मनमा आइहाल्छ। बच्चा हुर्काउने वा बाँच्ने त्यो तरिका सही प्रतित हुँदैन तर म त्यसो नगरी रहन सक्दिनँ। यो पूर्ण, अचम्मको, निरन्तर बदलिइरहने सानो व्यक्ति जसको अनुहार हरेकपल्ट आमाको मुहार हेर्दा चम्किन्छ, जो चाहेजसरी वस्तुहरू चलाउन नसक्दा अत्यासपूर्वक रुन्छ, जसको वायु वयस्कहरूको जस्तै जोडले आवाज दिएर निस्कन्छ, जसले पृथ्वीमा अर्को कुनै जीवित प्राणाीलाई चोट पुर्‍याएको छैन, मैले उसलाई कसरी भयावह ‘पछि’ को छायामा हुर्कन दिन सक्छु?

तर, निश्चय नै, कसरी त्यसो हुनबाट बचाउन सक्छु?

छल एउटा विकल्प हुन सक्छ। मैले कहिल्यै बाबुआमाले सन्तानलाई असुविधाजनक वा पीडादायी सत्यहरूबाट बचाउने कुरालाई निको मानिनँ। यौनका बारेमा होस्, नश्लका बारेमा होस् वा मृत्युका बारेमा। तर मेरो छोराका लागि ‘अघि’ सकेसम्म तन्काइनु उसको अधिकार होइन र?

हामी उसलाई टेलिभिजन वा सोसल मिडियाबाट परै राख्न सक्छौं ताकि उसले संसारभर बाढीझैं ओइरिएका विपत्तिहरूले सिर्जेको पीडाका तस्वीरहरू नदेखोस्। तर जब विपत्तिले हाम्रै राज्य, सहर वा टोलमा अतिक्रमण गर्छ, अनि के गर्ने?

हामी उसलाई टेलिभिजन वा सोसल मिडियाबाट परै राख्न सक्छौं ताकि उसले संसारभर बाढीझैं ओइरिएका विपत्तिहरूले सिर्जेको पीडाका तस्वीरहरू नदेखोस्। तर जब विपत्तिले हाम्रै राज्य, सहर वा टोलमा अतिक्रमण गर्छ, अनि के गर्ने?

हामी भन्न सक्छौं कि सधैंभरि यस्तै हुँदै आएको छ। सधैंभर यस्ता हप्ताहरू आउने गरेका छन् जसमा सूर्य तुवाँलोमा हराउने गर्छ। भन्न सक्छौं- तिमी बाहिर खेल्नै नसक्ने गरी आउने ताप लहरहरू पनि सधैं आउँथे। हाम्रा सडक र भवन भताभुंग पार्ने आँधीहरू, छिमेकीका घर बगाउने पहिरो सधैं आउँथे। रूखहरू सधैं मर्ने गर्थे।

हामी भन्न सक्छौं- संसारको यथार्थ नै यही हो।

केही अर्थमा त्यसोभन्दा हामी साँचो पनि बोलेका हुनेछौं।

तर त्यस्तो ढाकछोपले उसलाई एउटा महत्वपूर्ण मौकाबाट वञ्चित गर्नेछ- उसको आविष्कारको क्षणमा हुनुपर्ने ‘अघि’ देखि ‘पछि’ सम्म संक्रमणलाई अलिकति भए पनि सहज पार्ने।

म चाहन्छु कि ऊ सुनोस् यसमा उसको कुनै दोष छैन। यो राक्षसहरूको काम हो।

तेल र ग्यास उद्योगका व्यवस्थापक राक्षसहरू, अनि जानाजान आफ्नो क्षणिक मस्तीपूर्ण जीवनका लागि हामीले माया गर्ने हरेक चिजको बलिदानी चढाउने राजनीतिक राक्षसहरू। धेरै शक्तिशाली तर सर्वशक्तिमान नभइसकेका राक्षसहरू, जसका विरूद्ध हामी अझै लड्न र उनीहरूलाई परास्त गर्न सक्छौं। कम्तीमा केही अर्थमा।

म उसलाई भन्न चाहन्छु, हामी भाग्यमानी हौं। यो संकटले यसअगाडि नै परिवार र समुदायहरूलाई ध्वस्त पारिसकेको छ। कति सिंगो देशहरू हामीभन्दा निकै जोखिममा छन्। तिनका छालाको रङका कारणले, गरिबीका कारणले वा पृथ्वीमा उनीहरूको अवस्थितिका कारणले।

अनि त्यस्तो प्रणालीका कारणले जसले केही मानिसको फाइदाका लागि त्यति धेरै मानिसहरूलाई चपाइन र थुकेर फालिन लगाउँछ।

छोराका लागि यो कुरा विशेष महत्वपूर्ण हुनेछ कि ऊ जसरी सुकै जीवन बाँचोस् तर उसले आफ्नो सुरक्षाका लागि अरूका जीवनको बलिदानी नचढाओस्।

म उसलाई भन्न चाहन्छु- हामी उसलाई माया गर्छौं। हामी स्तब्ध छौं कि यो संसार ऊलायक छैन। तर पनि ऊसँगै जति सक्दोलायक संसार बनाउन लड्नका खातिर हामीले जे पनि गर्नेर्छौं। त्यसरी बन्ने संसार हामीले चाहेभन्दा धेरै भिन्न हुनेछ तै पनि जीवन चलिरहनेछ। अवस्था कठिन हुँदै जाला। त्यसो हुँदै गर्दा कसरी अघि बढ्ने भनेर हामी उपाय पनि खोज्नेछौं। अनि उसले तब पनि सुन्दरता र उज्यालोको अनुभूत गर्न सक्नेछ।

म बच्चा हुँदा, मेरो उपासना घरमा हामीले यहुदी विश्वासअनुसार जीवनका विभिन्न क्षणहरूको नाटक उतार्थ्यौंः ‘ब्रिस’, ‘बार’ वा ‘ब्याट मिच्वाह’, बिहे र मृत्यु। अरू धार्मिक परम्पराहरूमा पनि त्यस्ता समारोहहरू हुने गर्छन्।

मलाई लाग्छ जलवायु संकटको आविष्कार हुने ‘क्षण’ पनि जीवनचक्रको त्यस्तै अर्को खुट्किला हुनुपर्छ, जुन कुनै एउटा संस्कृति वा समुदायको नभई समस्त मानव जातिका मानिसहरूको जीवनमा आउने साझा खुट्किला बनोस्। त्यो परम्परागत कर्मकाण्डहरूभन्दा पनि झनै सामुदायिक बनोस्।

म चाहन्नँ कि मेरो छोराको ‘क्षण’ मेरोझैं एकान्तमा आओस्, एक्लै। संकटहरूबारे पढ्दै गर्दा वा विपत्तिहरूको परिणाम भोग्दै गर्दा, जब चेतनाको एकै झिल्कोमा सारा समस्याको विशालतामा नजर केन्द्रित हुन्छ अनि त्यसले सिर्जना गर्ने शोकको भयानकताले उसको शरीरलाई लल्याकलुलुक बनाउँछ, ऊ भक्कानिन्छ र उसका शब्दहरूलाई आँशुले बगाइदिन्छन्।

त्यसको सट्टा म चाहन्छु, उसको ‘अघि’ बाट ‘पछि’ सम्म संक्रमणको क्षणमा ऊ उसलाई माया गर्ने सबैले घेरिएको होस्। मेरो आशा छ त्यो यस्तो सामूहिक संवाद हुनेछ जसले कम्तीमा उसलाई विश्वस्त गर्नेछ कि ऊ एक्लो छैन।

सायद हामी त्यसलाई एउटा साझा वाचासमेत बनाउन सक्नेछौं। मानव युगको नयाँ परम्परा जहाँ जेसुकै आइपरे पनि हाम्रो र छोराको पुस्ता एक भएर त्यसको सामना गर्नेछ।

द न्यू रिपब्लिकमा प्रकाशित अंग्रेजी लेख ‘हाउ टु टेल योर चाइल्ड अबाउट द इन्ड अफ द वर्ल्ड’ को जीवन क्षेत्रीले गरेको अनुवाद।

Write your Comment