

दयाराम आचार्य, नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको बौदीकाली –५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्य समेत कम पर्ने गरेकोमा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उहाँले बताउनुभयो ।
जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रुपमा चिनिएको बबकका सुन्तला किसानहरूले सहजै बगैँचाबाटै सुन्तला बिक्री गर्दै आएको रानाले बताउनुभयो । स्थानीय स्तरका व्यापारीहरूले बगैँचाबाटै हाल प्रति किलोग्राम रु. ६० देखी रु. ६५ सम्ममा सुन्तला बिक्रि गर्दै आएकोले उहाँले बताउनुभयो । ‘एकातर्फ सहज रुपमा बगैँचाबाटै सुन्तला बिक्री भएको छ, अर्को तर्फ सुन्तलाको मूल्य समेत अघिल्ला वर्ष भन्दा धेरै पाउँदा किसान उत्साहित बनेकाछन्’ रानाले भन्नुभयो । गत वर्ष रु. ५० देखि रु.५५ प्रति किलोग्रामसम्ममा सुन्तला बिक्री भएकोमा अहिले मूल्य समेत केही बढेको उहाँले बताउनुभयो ।
नवलपुरको पहाडी क्षेत्रमा लगाइएको सुन्तला टिप्न यतिबेला किसान व्यस्त छन् । टिपिएका सुन्तला गाउँबाटै सोझै बिक्री हुँदा थप सहज भएको बुलिङटार गाउँपालिका –५, राइकोटका सुन्तला किसान कृष्ण सारुले बताउनुभयो । उहाँको मात्रै करिब एक हजार सुन्तलाका बोट रहेका छन् । अहिले सुन्तला पाकेपछि स्थानीय बजारमा विक्रि गर्दै आएको उहाँले बताउनुभयो । मौसम राम्रो भएकाले यस पटक सुन्तलाको दाना समेत राम्रो लागेको र भाउपनि राम्रो प्राप्त गरेको सारुले बताउनुभयो । गत वर्ष राइकोटमा उत्पादन भएका सुन्तला साना दाना भएकोमा अहिले दाना राम्रो लागेको उहाँले बताउनुभयो । उत्पादन भएको सुन्तला स्थानीय कावासोती बजार क्षेत्रमानै आफूले खपत गर्दै आएको सारुले बताउनुभयो । ‘अहिले सुन्तला बजार पठाउने क्रम छ, जिल्लाका स्थानीय बजारमा खपत हुँदै आएको छ, पछि के हुन्छ हेरौँ’ सारुले भन्नुभयो ।
जिल्लाको पहाडी क्षेत्र बबक, राइकोट , जौवारी, ढोडेनी, देउराली लगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । स्थानीय व्यापारीहरू बगैँचामानै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले फोन गरेर सुन्तला माग गरेपछि पठाइदिने गरेको बबकका किसान रानाले बताउनुभयो । नवलपुरका स्थानीय बजार सँगै चितवनको नारायणगढबाट समेत सुन्तला माग हुँदै आएको उहाँले बताउनुभयो । ‘व्यापारीहरूले माग राम्रै गरिरहेका छन्, यही मूल्य तय गरि जोखेर पठाए मात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन’ रानाले भन्नुभयो ।
किसान आफैले सुन्तला बजारमा पुर्याउँदा मूल्य निर्धारण कति हुने , कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकोमा गाउँबाटै मूल्य तय गरि व्यापारीको माग अनुसार पठाउने गरेको उहाँको भनाई रहेको छ । गाउँका विभिन्न स्थानमा स्थानीय व्यापारीले समेत सुन्तला सङ्कलन गरि सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।
नवलपरासी पूर्व नवलपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई नवलपुरद्धारा सुन्तला जातका फलफूल जोन कार्यक्रम संचालन गरेपछि जिल्लामा व्यवसायीक रुपमा सुन्तलाको उत्पादन बढ्दै गएको छ । कार्यालयका सूचना अधिकारी रण बहादुर महतोका अनुसार नवलपुरमा एक सय ८० हेक्टर क्षेत्रफल सुन्तलाजात फलफूलको उत्पादशिल क्षेत्र रहेको छ । गत आर्थिक वर्षमा नवलपुमा एक हजार चारसय टन सुन्तला उत्पादन भएको थियो । सूचना अधिकारी महतोका अनुसार कागती १८ टन उत्पादन भएको थियो । गत वर्ष किसानले सुन्तला बिक्रिबाट करिब रु. ८ करोड ९० र कागती विक्रिबाट रु. १७ लाख ८६ हजार आम्दानी गरेका थिए ।