

देवचुली । देवचुली नगरपालिकाका वन क्षेत्रमा परेका सुकुम्बासीहरु आन्दोलित भएका छन् । देवचुली नगर भित्रका अमर ज्योति, अमर, धुसेरी, चौतारी र बटटाँडी सामुदायिक वनहरु भित्र मानव बस्ती पारिएपछी सुकुम्बासीहरुले संघर्ष समिति बनाई सामुदायिक वनको सिमाना पुन: समीक्षा गरि मानव बस्तीबाट वनलाई हटाउन माग गरेका हुन् । २०२४ सालदेखि बसोबास गर्दै आएका बासिन्दाले आफुहरुलाई सामुदायिक वन क्षेत्र भित्र पारी अहिले भूमीको पुर्जाबाट बन्चित पारेको र उक्त समस्याको समाधानका लागि आवाज उठाउँदै आएका छन् ।

सुकुम्बासी संघर्ष समितिले २०८२ साल कार्तिक १ गतेदेखि देवचुली–४ स्थित अमर ज्योति सामुदायिक वनको कार्यालयमा तालाबन्दी गर्दै आन्दोलन थालेको र समितिले देवचुली नगरपालिकाभित्र रहेका सबै सामुदायिक वनहरूलाई आधिकारिक पत्राचार गरी वार्ता र समाधानको माग गरिएको आज देवचुली-४ मा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । देवचुली नगरपालिका क्षेत्रका अमर ज्योति, अमर, धुसेरी, चौतारी र बटटाडी सामुदायिक वन दर्ता हुनुअघि नै मानव बस्तीहरू रहेको प्रमाण स्थानीय तह, वडा कार्यालय र नागरिक समाजसँग रहेको समितिको दाबी छ। २०७२ सालमा अमर र अमर ज्योति वन छुट्टिँदा केही बस्तीहरू अनावश्यक रूपमा वनभित्र परेको र त्यसका कारण नागरिक सेवामा समस्या उत्पन्न भएको सुकुम्बासी संघर्ष समितिका अध्यक्ष धनबहादुर लुँगेली मगरले बताउनुभयो ।

अध्यक्ष लुङ्गेलीका अनुसार सुकुम्बासी संघर्ष समितिले सामुदायिक वनको सिमाना पुनः समीक्षा गरि पुराना मानव बस्तीहरुलाई वन क्षेत्रबाट बाहिर राख्न, सम्बन्धित जिल्ला, नगरपालिका र संघर्ष समितिबीच संयुक्त सिमाङ्कन कार्यदल गठन गर्न, संविधान र एन अनुसार नागरिकको आवास, खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा पहुँच सुनिश्चित गर्न र आन्दोलनरत नागरिकहरु माथि कुनै पनि किसिमको दमन वा धम्की नगरी, संवाद र सहमतिको माध्यमबाट समाधान खोज्न सरोकारवालासँग माग गरेको छ ।

कार्तिक १७ गते देवचुली-४ को वडा कार्यालयको पहलमा संघर्ष समितिसँग प्रारम्भिक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि नगरपालिका स्तरीय वार्ताका लागि पठाउने निर्णय भएको र तीन दिन भित्रमा वार्ताको वातावरण नबने नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक वन कार्यालयहरुमा तालाबन्दी र दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनी संघर्ष समितिले दिएको छ ।
