

देवचुली । देवचुली नगरपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता योजना तर्जुमा सम्बन्धी तथ्याङ्क प्रमाणिकरण गोष्ठी सम्पन्न भएको छ। देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको आयोजनामा मंगलबार नगरपालिकाको सभाहलमा गोष्ठी गरिएको हो ।

नगरको खानेपानी तथा सरसफाईसम्बन्धी अवस्था, समस्या र आगामी योजनालाई वैज्ञानिक रूपमा अभिलेख गर्न तथा यथार्थपरक नीतिगत योजना बनाउन गोष्ठी गरिएको वास नमुना गाउँ परियोजनाका प्रमुख भिम मल्लले जानकारी दिनुभयो । खानेपानी, सरसफाई तथा स्वच्छता योजना (वाश प्लान) तयारीका लागि देवचुलीका १७ वडाबाट संकलित तथ्यांकहरुको प्रस्तुतिकरण, प्रमाणीकरण, योजना तर्जुमा र प्राथमिकीकरणका लागि गोष्ठी महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । गोष्ठीमा परियोजनाका प्रमुख भिम मल्लले वाश क्षेत्रको वर्तमान अवस्थाको जानकारी सहित सबै वडाबाट आएका तथ्यांकहरु जानकारी गराउनुभएको थियो भने वाश विज्ञ सुशील सुबेदीले दिगो विकासको राष्ट्रिय लक्ष्य तथा नगरपालिकाको लक्ष्यसहित वाश योजना निर्माणका बारेमा जानकारी गराउनु भएको थियो ।
देवचुली नगरपालिका उप–प्रमुख पार्वता तिवारीको अध्यक्षतामा सुरु गरिएको गोष्ठीमा गोष्ठीमा वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, शाखा प्रमुख, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । उप–प्रमुख तिवारीले नगरबासीको स्वास्थ्य, स्वच्छता र दीगो खानेपानी सेवा सुनिश्चित गर्न तथ्यमा आधारित योजना अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी र सरसफाई प्रत्येक नागरिकको मौलिक अधिकार हो। नगरको दीगो विकासका लागि स्वच्छता, सरसफाई र सुरक्षित खानेपानीलाई प्राथमिकता दिनुपर्छ।”

गोष्ठीमा वडामा संकलन गरिएको खानेपानीका स्रोत, वितरण प्रणाली, सरसफाई अवस्थासँग सम्बन्धित तथ्याङ्कको प्रमाणिकरण गरिएको हो । तथ्यांक प्रमाणीकरण भएसँगै नगरस्तरीय समग्र खानेपानी तथा सरसफाई योजना प्राथमिकीकरण गरिने देवचुली नगरपालिका वाश फोकल पर्सन अविनास पन्थिले बताउनुभयो ।
वास नमुना गाउँ परियोजनाले देवचुली नगरपालिकाको दीगो खानेपानी तथा सरसफाई योजनालाई सहजीकरण र प्राविधिक सहयोगमार्फत सुदृढ बनाउने कार्य गरिरहेको छ ।