आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024 Search
FLASH NEWS

उज्यालो आउदैछ (कविता)

    प्रकाशित २०७८ अषाढ ५, शनिबार (२ साल अघि)


एम बि खडका
कुनै बिद्वानले यसो भने-
यदि तिमी पच्छारियौ भने
उत्तानो परेर उपरखुट्टी लगाउ
र आकासमा ताराहरु हेर
आह ! कति सकरात्मकता !

कहिल्यकाँही म छिप्पिएको रातसँग
छतमा बसेर ताराहरु हेर्छु
जब अँध्यारो झर्छ जमिनमा
जब यो शहर मस्त निदाउछ
तब ताराहरु पनि ओर्लन्छन जमिनमा

शैलुङका पाखाभरी
खरिढुङ्गाका पाखा भरी
चरिघ्याङ चरिकोट तिर
खोर्थली सिम्पानी तिर
बग्रेल्ती ताराहरु झर्छन जमिनमा
तारालाई काँधमा बोकेर जुनकिरीहरु
एताबाट उतातिर उताबाट एतातिर
सल्याङ्बल्याङ उड्छन

ताराहरु जमिनमा ओर्लिन पनि त
अँध्यारो हुनु पर्दोरहेछ
यदि तिमी अँध्यारो भित्र
बाटो नभेटेर अलमलिएको छौ भने पनि
नआत्तिकन पर्खी बस्नु
अँध्यारो त ताराहरु जमिनमा ओर्लिने
उज्यालोको सङ्केत हुनुपर्छ ।

Write your Comment