आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

महिला हिंसा र किशोरीको अनुरोध

    प्रकाशित २०७८ श्रावण २४, आईतबार (२ साल अघि)


सुन्नु होला दिदी बहिनी सुन्नु होला दाजु भाई
महिला माथि हुने हिंसा भन्छु सबैलाई ।
सुन्ने मात्र होइन हजुर सुनाउने नि गरौं है
महिला हिंसा अन्त्य गर्न अघि सरौं है ।

जति शिक्षा दिए पनि चेतनाको अभाव
हिंसाले नै पछि पर्यो हाम्रो समाज ।
आठ महिनाको बालिकालाई अपहरण गर्‍या छन्
आफु मर्न नपर्ने झैं प्राण हर्‍या छन् ।

जहाँ नेर हुने गर्छ ठुला ठुला भाषण
तिनैले नै गर्ने गर्छन् महिला शोषण ।
दिन भरि जुवा तास आउँछन् रक्सी धोकेर
बिना कारण महिला कुट्छन् निहुँ खोजेर ।

विधुवा र वृद्धलाई बोक्सी आरोप लगाउँछन्
असहाय र दु:खीलाई जिउँदै जलाउँछन् ।
संचारको माध्यमबाट आउँछन् यस्ता समाचार
महिला माथि भएका छन् हिंसा बलात्कार ।

निर्जला र निर्मला नि घर फर्केर आएनन्
कठै बरा परिवारले न्याय पाएनन् ।
जति कानुन बने पनि न त हिंसा रोकियो
स्वतन्त्र भई बाँच्ने हाम्रो हकै खोसियो ।

महिला हिंसा अन्त्य गर्न सबै अघि सरौं न
भविष्यका कर्णधारको रक्षा गरौं न ।

-(विमाया नेपाली
साथी शिक्षक,कावासोती
किशोरी शसक्तिकरण कार्यक्रम)

Write your Comment