

देवचुली । देवचुली नगरपालिकामा विषादी न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका कृषि विकास शाखाको आयोजना तथा कृषि थोक बजार कावासोती, कृषि विकास कार्यालय नवलपुर र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ कावासोतीको सह- आयोजनामा शुक्रबार तरकारी खेती गर्ने किसान र एग्रोभेट व्यवसायीहरुसहित सचेतना कार्यक्रम गरिएको हो ।

देवचुली-२ दुम्कौलीमा ठूलो क्षेत्रफलमा तरकारी खेती गरिएको र किसानहरुलाई सही रुपमा विषादीको प्रयोग गर्न सिकाउन र जथाभाबी विषादी प्रयोगले मानव स्वास्थ्य र कृषि पर्यावरणीय प्रणालीमा पर्ने असरहरुको बारेमा जानकारी दिनका लागि कार्यक्रम गरिएको देवचुली नगरपालिका कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा किसानहरूले प्रयोग गर्दै आएका विभिन्न विषादी, तिनीहरूको उचित प्रयोग समय, मात्रा र मानव जीवनमा पर्ने प्रभावबारे विस्तृत जानकारी प्रदान गरिएको हो ।
कृषि विकास कार्यालय नवलपुरका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले कृषकहरुलाई विषादीको सुरक्षित प्रयोगबारे सहजीकरण गर्नुभएको थियो । किसानहरुलाई बालीमा प्रयोग हुने विषादीको प्रकार, उचित मात्रा, प्रयोगको समय र मानव स्वास्थ्यमा पर्ने संभावित असरबारे जानकारी गराउनुभएको थियो । साथै, विषादी प्रयोग गरेको बालीमा विषादीको असर हुने समयको जानकारी गराउँदै विषादी प्रयोग गर्दा व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग र विषादीको सही भण्डारण तथा नष्ट गर्ने उपायबारे पनि कृषकहरूलाई व्यावहारिक सुझाव दिनुभएको थियो ।

कार्यक्रममा एग्रोभेट व्यवसायीहरुले किसानहरुलाई दिएको विषादीको सही रुपमा प्रयोग नगरेको, बढी मात्रामा विषादीको प्रयोग र अन्य ठाउँबाट कडा विषादीको ल्याउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा किसानहरुले विषादीको बारेमा जानकारी नहुँदा तरकारीहरुमा बढी विषादी प्रयोग हुने गरेको र कृषि विकास कार्यालय तथा देवचुली नगरपालिका कृषि विकास शाखाले निरन्तर सचेत गराएपछि सही रुपमा विषादीको प्रयोग गर्न सुरु गरिएको किसानहरूले बताए ।
देवचुली नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा देवचुली-१ का वडा अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली-२ का वडा अध्यक्ष शरद घिमिरे, तरकारी खेती गर्ने किसान, रजहर क्षेत्रका एग्रोभेट व्यवसायी लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो । सचेतना कार्यक्रम पश्चात कृषि विकास कार्यालय नवलपुरबाट सरुवा भइ गोरखा जान लाग्नुभएका कार्यालय प्रमुख कुलप्रसाद तिवारीलाई बिदाई समेत गरिएको थियो ।
