देवचुली । देवचुली नगरपालिकामा रहेका दुई वटा खानेपानी संस्थाका उपभोक्ता समितिलाई संस्था व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । देवचुली नगरपालिकाको सहकार्यमा वास नमुना गाउँ परियोजनाद्वारा वाटर फिन्सको सहयोगमा देवचुली र विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ता समितिलाई दुईदिनसम्म तालिम दिईएको हो ।
दुवै खानेपानी संस्थामा अधिवेशनबाट नयाँ समिति गठन भएको र उहाँहरुलाई खानेपानी संस्थालाई चलायमान गराउनका लागि विविध जानकारी गराउन बिहीबार र शुक्रबार दुईदिनसम्म तालिम दिईएको वास नमुना गाउँ परियोजनाका निर्देशक भिम मल्लले बताउनुभयो । समितिमा सबैले जिम्मेवारी पुर्वक काम गर्नका लागि तालिमले सहज गराउने र आगामी दिनमा दुई खानेपानी संस्थासँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने समेत छलफल गर्नका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो ।
देवचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षतामा भएको तालिमको उदघाटनमा देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बलराज बिक, विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भरत आचार्य, वास नमुना गाउँ परियोजनाका निर्देशक भिम मल्ल, वासविज्ञ सुशील सुवेदी, दुवै खानेपानीका पदाधिकारीहरु, आयोजकका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
दुई दिन सम्म संचालन भएको तालिमको अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक मनबहादुर रानाभाट र कर्मचारी विष्णुप्रसाद कंडेलले सहजीकरण गर्नुभएको थियो । दुई दिनसम्म तालिममा संस्था व्यवस्थापनमा रहेका कानुनी कुराहरुको जानकारी, उपभोक्ता समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको विषयमा जानकारी, संस्थागत नेतृत्व विकास लगायतको विषयमा सहजीकरण गरिएको हो ।