आज:  २०८२ भाद्र २१, शनिबार | Sat, 06, Sep, 2025 Search
FLASH NEWS

भोदी प्रतियोगिता : पुरुषतर्फ डायमण्ड युथ सोसाईटी निलो र महिलातर्फ नव निर्मित आमा समुहलाई उपाधि

    प्रकाशित २०८२ भाद्र २१, शनिबार (३ घण्टा अघि)


देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा संचालन भएको भोदी खेल प्रतियोगिताको उपाधि पुरुषतर्फ डायमण्ड युथ सोसाईटी निलो र महिला तर्फ नव निर्मित आमा समुहले जितेका छन् । थारुहरुको महान पर्व अनन्त चतुर्दशी र जितिया पर्वको अवसरमा डायमण्ड युथ सोसाइटीद्वारा राजमन्दिर खेल मैदान कावासोती १२ मा बिहीबारबाट संचालित प्रतियोगिताको शुक्रबार समापन गरिएको हो ।


नवलपुर जिल्लाका विभिन्न स्थानहरुबाट महिला पुरुष गरि ९१ टिमको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार भएको पुरुषतर्फको फाइनल खेलमा डायमण्ड युथ सोसाइटी निलो कावासोती १२ प्रथम हुँदै ३३ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने असरा थारु समुह कावासोती १२ द्वितीय हुँदै २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि मन्दिर टोल कावासोती १२ तृतीय हुँदै १० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने कुमारवर्ती थारु युवा समाज `सि´, कावासोती ११ ले सान्त्वना हुँदै ५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना टिमले क्रमशः ७४, ७१, ४९ र ४२ काँचा निकाल्न सफल भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी डायमण्ड युथ सोसाइटी निलोका अजय महतो भएका थिए ।

महिलातर्फको फाइनल खेलमा नव निर्मित आमा समुह मध्यविन्दु-४ प्रथम हुँदै १० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने डायमण्ड युथ सोसाइटी चण्डेश्वरी आमा समूह कावासोती १२ द्वितीय हुँदै ५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि डायमण्ड युथ सोसाइटी ब्रम्हदेव` ए´ कावासोती १२ तृतीय हुँदै ३ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने शान्ति युवा क्लब मध्यविन्दु-१५ ले सान्त्वना हुँदै १ हजार ५ सय रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी नव निर्मित आमा समुह मध्यविन्दु-४ की मनेश्वरी महतो भएका थिए ।


भोदी खेल संयोजक रणबहादुर थनेतको अध्यक्षतामा भएको प्रतियोगिताको समापन सत्रमा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । महिला पुरुषतर्फ दुई/दुई पोलबाट प्रथम र द्वितीय हुने टिमलाई फाइनल खेलमा सहभागी गराइएको थियो । प्रतियोगितामा सबैभन्दा बढी काँचा निकाल्ने समुह विजेता हुने खेलको नियम छ । भोदी खेल थारु समुदायको परम्परागत खेल हो ।

Write your Comment