देवचुली । देवचुली नगरपालिका वडा नम्बर ६ किर्तीपुरमा सरसफाइ सामग्री वितरण गरिएको छ । वास नमुना गाउँ परियोजनाको आर्थिक सहयोगमा गाउँका विभिन्न टोलमा सोमबार १५ थान स्ट्यान्डसहितका डस्टबिन हस्तान्तरण गरिएको हो ।
किर्तीपुरका विभिन्न टोलमा रहेका सरसफाइ समितिहरूलाई लक्षित गर्दै उक्त डस्टबिन वितरण गरिएको हो । सफा, स्वच्छ र स्वस्थ समुदाय निर्माण गर्ने लक्ष्यसहित समुदायमा स्ट्याण्डसहित डस्टबिन वितरण गरेको र यो पहलले स्थानीयस्तरमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्न थप टेवा पुर्याउने अपेक्षा लिइएको वास नमुना गाउँ परियोजनाका सरसफाइ सहजकर्ता यानमाया गुरुङले जानकारी दिनुभयो ।
देवचुली नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मिनबहादुर सोती मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडास्तरीय सरोकारवाला निकाय, परियोजनाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । टोलका प्रतिनिधिहरुले सरसफाइ सामग्रीले वातावरणमैत्री बानीको विकासमा सहयोग पुग्नुका साथै सफा किर्तीपुर बनाउने अभियानलाई थप टेवा पुर्याउने बताए ।
वास नमुना गाउँ परियोजनाले देवचुलीमा विगत दस वर्षदेखि खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आइरहेको छ ।