आज:  २०८२ श्रावण १५, बिहिबार | Thu, 31, Jul, 2025 Search
FLASH NEWS

देवचुली र प्रगतिनगर खानेपानीको मुहान क्षेत्र वरपर पौडी खेल्न निषेध

    प्रकाशित २०८२ श्रावण १०, शनिबार (५ दिन अघि)


देवचुली । देवचुली नगरपालिकाको दुई खानेपानीको मुहान क्षेत्र वरपर पौडी खेल्न निषेध गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ६ मा अवस्थित टोक्रे खोला पुल नजिक रहेका दुई वटा खोलामा पौडी खेल्ने संख्या बढ्दै गएपछि खानेपानी स्रोतको संरक्षण र सरसफाइलाई प्राथमिकता दिदैँ मुहान क्षेत्र र वरपर फोहोर गर्ने, फोहोरजन्य वस्तु फाल्ने तथा पिकनिक वा पौडी खेल्नेजस्ता गतिविधि गर्न कडाईका साथ निषेध गरिएको हो ।


देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान क्षेत्र रहेको उक्त स्थानमा पछिल्लो समय नवलपुर जिल्लाका विभिन्न स्थानबाट पौडी खेल्न, पिकनिक खान आउनेको संख्या बढेसँगै मुहान क्षेत्रमा फोहोर बढदै गएपछि पौडी खेल्न रोक लगाइएको हो । शनिबार दुवै खानेपानीका पदाधिकारीसहित अस्थायी प्रहरी चौकीका प्रमुखको कमान्डमा गएको टोलीले पौडी खेल्न आउनेहरुलाई सचेत गराई खोलामा पौडी खेल्न निषेध गरिएको जानकारी गराई फिर्ता पठाइएको हो ।


टोक्रे नहरबाट माथी खानेपानीको मुहान भएकाले मुहान वरपर फोहोरजन्य वस्तु फाल्न तथा फोहोर गर्नका साथै पौडी खेल्न सशक्त मनाही गरिएको देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बलराज बिकले जानकारी दिनुभयो । संस्थाले बोर्ड बनाएर मुहान क्षेत्रमा पौडी खेल्न मनाही गरिएको सूचना टाँस गरिएको उहाँले बताउनुभयो ।

मुहान क्षेत्रमा जिल्लाका विभिन्न स्थानबाट पिकनिक लगायतका गतिविधि हुँदा फोहोरजन्य वस्तु यत्रतत्र फालिएको र मुहान क्षेत्र फोहोर भएकोले जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले आजदेखि पौडी खेल्न रोकिएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरीयाले बताउनुभयो । दैनिक रुपमा सुरक्षाकर्मी सहित दुवै खानेपानीका प्रतिनिधिहरु उपस्थित भएर पौडी खेल्न आउनेलाई फिर्ता पठाइने तयारी गरिएको उहाँले बताउनुभयो ।


शनिबार दिउँसो सुरक्षाकर्मीसहित दुवै खानेपानीका पदाधिकारीहरुद्वारा मुहान वरपरका खोलामा पौडी खेलिरहेका, मासुजन्य परिकार पकाउँदै गरेकाहरुलाई खोलाबाट निकालिएको र आगामी दिनमा पौडी खेल्न नआउन सचेत गराइएको हो । गर्मी बढेसँगै जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा पौडीका लागि मोटरसाइकल, अटो, जिप प्रयोग गरेर आउनेहरु संख्या अत्याधिक रहेको थियो ।

Write your Comment