आज:  २०८२ अषाढ २८, शनिबार | Sat, 12, Jul, 2025 Search
FLASH NEWS

देवचुलीमा कृषकहरुका लागि कृषि सामाग्री वितरण

    प्रकाशित २०८२ अषाढ २३, सोमबार (५ दिन अघि)


देवचुली । देवचुली नगरपालिकामा व्यवसायिक कृषकहरूका लागि कृषि सामाग्री वितरण गरिएको छ । देवचुली नगरपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार व्यवसायिक कृषक प्रवर्द्धनात्मक कार्यक्रम तथा पकेट विकास कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरिएको हो ।


देवचुली नगरपालिकाद्वारा ईटेण्डर मार्फत कृषि सामाग्री खरिद गरि कृषकहरूलाई वितरण गरेको हो । नगरपालिकाले विनियोजन गरेको बजेटबाट २७ लाख २३ हजार ६ सय १५ रुपैयाँको सामाग्री वितरण गरिएको कृषि विकास शाखा प्रमुख गगन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सामाग्रीका लागि कृषकहरुको ५०% लागत सहभागिता रहने र कार्यक्रमबाट कृषक समूह, उद्यमी कृषक र व्यवसायिक कृषकहरु लाभान्वित हुनेछन् । कृषकहरुको मागका आधारमा सामाग्री वितरण गरिएको हो ।

नगरपालिकाद्वारा २९ वटा हाते ट्याक्टर, ६ वटा धान काट्ने मेसिन, मकै रोप्ने मेसिन ज्याक प्लान्टर १३ वटा, साइपल सिडर र पुस सिडर १/१ वटा, मकै छोडाउने मेसिन ( कम्प्रेसर) ५ वटा, कुटानी पिसानी मेसिन २ वटा, रिपर हेड १ वटा, प्याड्डी व्हिल १ सेट लगायतका अत्याधुनिक कृषि सामाग्रीहरू वितरण गरिएको भट्टराईले बताउनुभयो ।


ठुला ट्याक्टरले काम गर्न अप्ठ्यारो पहाडी क्षेत्रमा किसानहरुका लागि हाते ट्याक्टर वितरण गरिएको हो । सोही कार्यक्रममा देवचुली ४ को टोल विकास संस्थालाई वितरणका लागि वडा कार्यालयले १ वटा हाते ट्याक्टर, १ वटा मकै रोप्ने मेसिन, १ सेट चक्कामा जोड्ने प्याड्डी व्हिल, १ वटा धान काटने मिसिन र १ वटा रिपर हेड समेत ल्याएको कृषि विकास शाखाले जनाएको छ ।

कार्यक्रमको उद्घाटन सत्र देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। उहाँले कृषकहरूको आर्थिक विकासमा यस्तो पहल महत्त्वपूर्ण रहेको बताउँदै यसले कृषिको उत्पादनशक्ति र व्यवसायिक दृष्टिकोणलाई मजबुत बनाउने बताउनुभयो । नगर प्रमुख न्यौपानेले कृषकहरूको उत्प्रेरणा बढाउन र जीवनस्तर सुधार गर्नका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा देवचुली नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा देवचुली १ का वडा अध्यक्ष कृष्णबहादुर केसी, देवचुली ८ का वडा अध्यक्ष नुनप्रसाद बाचे, देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल, देवचुली १६ वडा अध्यक्ष केशवराज गौतम, कृषि विकास शाखा, पशु सेवा कार्यालयका कर्मचारीहरु लगायत कृषकहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजीकरण कृषि विकास शाखाका प्रमुख गगन भट्टराईले गर्नुभएको थियो ।

Write your Comment