आज:  २०८२ अषाढ १९, बिहिबार | Thu, 03, Jul, 2025 Search
FLASH NEWS

ओपेराद्वारा बेसिक कम्प्युटर कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाण पत्र वितरण

    प्रकाशित २०८२ अषाढ १८, बुधबार (१६ घण्टा अघि)


देवचुली । देवचुली १३ दलदलेमा रहेको ओपेरा टेक्निकल इन्स्टिच्युट प्रालिले कम्प्युटर कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको छ । इन्स्टिच्युटले तीन महिना सम्म कम्युटर सिकेका १६९ जना विद्यार्थीलाई बुधबार देवचुली पार्टी प्यालेसमा कार्यक्रम गरि प्रमाण पत्र वितरण गरेको हो ।

ओपेरा टेक्निकल इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक केशव भण्डारीको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, भीमसेन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निधर भुसाल, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनबहादुर दाहाल, कुमारवर्ती बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख राजेन्द्र केसी, नेपाल माध्यमिक विद्यालयका विज्ञान शिक्षक सुनिल बन्जारा, जन ज्योति माध्यमिक विद्यालयका विज्ञान संकायका संयोजक रमेशराज पौडेल लगायत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

विगत वर्षदेखि नै ओपेरा टेक्निकल इन्स्टिच्युटले कम्प्युटर सम्बन्धि तालिम दिदैँ आइरहेको र एसईई दिएर खाली समय बसी रहेका विद्यार्थीहरुलाई प्राविधिक सीपका लागि कम्प्युटर तालिम आवश्यक रहेको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । बेसिक कम्प्युटर ज्ञान सबैमा आवश्यक रहेको बताउँदै अझै विद्यार्थीहरुलाई प्रविधिमैत्री बन्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा शुभकामना दिनुहुने अधिकांश विद्यालयका प्रधानाध्यापकहरुले एसईईपछि शैक्षिक गन्तव्यका लागि आफैंले राम्रोसँग बुझ्नुपर्ने बताउँदै आ आफ्ना शैक्षिक संस्थामा पढाई हुने विषयहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो ।तीन महिनामा कम्प्युटर सम्बन्धि आधारभूत कुराहरु सहज रुपमा सिकेको विद्यार्थी अनुष्का भण्डारीले बताउनुभयो। तालिम लिदै गर्दा विभिन्न विद्यालय तथा कलेजमा रहेका कम्प्युटर ल्याबहरुको अवलोकन गर्ने अवसर समेत ओपेराले दिएको उहाँले बताउनुभयो ।

ओपेरा टेक्निकल इन्स्टिच्युट प्रालिका जनसम्पर्क विभाग प्रमुख ढुण्डिराज केसीले स्वागत गरेको कार्यक्रमको सहजीकरण नगेन्द्र भण्डारी गर्नुभएको थियो । १३ वर्ष अघि दलदलेमा संचालनमा आएको ओपेरा टेक्निकल इन्स्टिच्युट प्रालिले कम्प्युटर तालिम सम्बन्धि कक्षा निरन्तर संचालन गर्दै आइरहेको छ ।

Write your Comment