आज:  २०८२ जेष्ठ १२, सोमबार | Mon, 26, May, 2025 Search
FLASH NEWS

विद्यालय शान्तिक्षेत्र दिवसको रूपमा जेठ ११ गतेलाई घोषणा गर्न सिजपको अपिल

    प्रकाशित २०८२ जेष्ठ ११, आईतबार (७ घण्टा अघि)


काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले जेठ ११ गतेलाई “विद्यालय शान्तिक्षेत्र दिवस” घोषणा गर्न नेपाल सरकारसँग अपिल गरेको छ । सिजपले बालबालिकाको शान्तिपूर्ण र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्ने अधिकार सुनिश्चित गर्न २०८२ जेठ ११ गते यस्तो माग अघि सारेको हो।

वि.सं. २०६८ साल जेठ ११ गते नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्ने ऐतिहासिक निर्णय गरेको थियो । सोही निर्णयको स्मरण गर्दै सिजपले यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिन आग्रह गरेको हो। विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका, २०६८ अनुसार, विद्यालयहरूलाई हिंसारहित, भेदभावरहित र सशस्त्र गतिविधिबाट मुक्त राख्नुपर्ने उल्लेख छ ।

निर्देशनमा विद्यालय परिसर तथा वरिपरिका क्षेत्रलाई कुनै पनि किसिमका राजनीतिक, सशस्त्र गतिविधि, आक्रमण, धम्की र विस्फोटक पदार्थ प्रयोगबाट जोगाउनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । सिजपका अनुसार यस्ता कानुनी र नीतिगत प्रावधान हुँदाहुँदै पनि द्वन्द्वकालमा गाडिएका विस्फोटक पदार्थका कारण बालबालिकाको मृत्यु र घाइते हुने, बन्द–हड्ताल तथा राजनीतिक गतिविधिमा विद्यालय र विद्यार्थीको प्रयोग हुने घटनाहरू अझै पनि देखिने गरेका छन् । नेपालको संविधानको धारा ३९ को उपधारा (६) ले बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ भने, बालबालिकासम्बन्धी ऐन, २०७५ ले विद्यालयमाथि आक्रमण र अवरोध गर्न नपाइने कानुनी प्रावधान गरेको छ ।

सिजपले सरकारको बालमैत्री पहलहरूको प्रशंसा गर्दै विद्यालय शान्तिक्षेत्र घोषणा गरिएको दिनलाई स्मरणीय बनाउने र बालबालिकाको हक र हितलाई प्रोत्साहन गर्ने हेतुले दिवसको घोषणा आवश्यक रहेको जनाएको छ । साथै, सिजपले सरकारसँग यस विषयमा सकारात्मक धारणा अपनाउँदै तत्काल पहल लिन पनि आग्रह गरेको छ ।

Write your Comment