देवचुली । देवचुली नगरपालिका–१५ लोकाहा स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। गए राति करिब ११:३० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३००१ ख ४०५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा कन्टेनर चालक सुस्ता गाउँपालिका–१ निवासी ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । त्यसैगरी कन्टेनरका सह–चालक चितवन राप्ती नगरपालिका–७ निवासी ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरी बर्दिवास नगरपालिका–११ निवासी ३० वर्षीय बिच बहादुर थिङको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।