देवचुली । नवलपुरको देवचुली-१६ मा रहेको अमर बोडिङ्ग स्कुलमा सर्पदंश सचेतना कार्यक्रम सम्पन्न भएको छ । गर्मी बढेसँगै यस सिजन सर्पहरुको बच्चा जन्माउने वा निस्कने समय भएकोले विद्यार्थीहरुलाई सचेत गराउन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई सर्प देख्दा हुने डरलाई जित्न मात्र नभई हाम्रो पारिस्थितिक प्रणालीका यी महत्त्वपूर्ण प्राणीहरूलाई सम्मान र सर्पलाई सुरक्षा गर्नुपर्ने बिषयहरु जानकारी गराइएको छ । सर्पबाट कसरी बच्ने, टोकी हालेमा के गर्ने र कहाँ जाने लगायतका विषयवस्तुका बारेमा सर्प उद्धारकर्ता माधव सुवेदीले जानकारी गराएका थिए । उनले सर्प उद्वार गर्दा कुन सामान प्रयोग गरिन्छ र कसरी गरिन्छ भन्ने विषयमा समेत जानकारी गराएका हुन् ।
सर्प उद्वारकर्ता सुजन भुसालले नेपालमा पाईने सर्प र भोलिको दिनमा सर्पबाट कसरी बच्ने साथै कुन सर्प कस्ता हुन्छन् लगायतका विषयमा भिडियो/दृश्य मार्फत सहभागी जानकारी गराएका थिए । कार्यक्रममा महिला सर्प उद्वारकर्ता महिमा पौड्यालले भिजियो मार्फत विद्यार्थीहरुलाई सर्पको पहिचान गराउँदै खतरनाक हुने र नहुने सर्पका विषयहरु सहजीकरण गरेकी थिइन् ।