आज:  २०८२ बैशाख २७, शनिबार | Sat, 10, May, 2025 Search
FLASH NEWS

देवचुली नगरपालिकामा फुटबल र क्रिकेट खेलको प्रशिक्षण सुरु

    प्रकाशित २०८२ बैशाख २७, शनिबार (५ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा फुटबल र क्रिकेट खेलको प्रशिक्षण सुरु भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा शनिबार जन ज्योति नमुना माविमा दुवै खेलको प्रशिक्षणको समुदघाटन गरिएको हो । दुवै खेलको प्रशिक्षणका लागि ९ वर्षदेखि १६ वर्षसम्मका २ सय बढी खेलाडीहरुको सहभागिता रहेको छ ।

देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपक चन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा वडा अध्यक्षहरु, नगर खेलकुद विकास समितिका पदाधिकारीहरु, वडा खेलकुद विकास समितिका अध्यक्षहरु, खेलाडी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले नगरपालिकाले खेल मात्र संचालन नभई खेल प्रशिक्षण संचालन गर्ने योजना अनुसार आजबाट फुटबल र क्रिकेट खेलको प्रशिक्षण सुरु गरिएको बताउनुभयो । स्थानीय प्रशिक्षकबाट खेलाडीहरुलाई खेलको प्रशिक्षण सुरु गरिएको र खेलको माध्यमबाट अगाडि बढ्न सकिने उहाँले बताउनुभयो । खेलमा सहभागी रहेका खेलाडीहरुलाई अनुशासित भई खेलको नियम अनुसार निरन्तर प्रशिक्षणमा सहभागिता हुनका लागि आग्रह गर्दै आगामी दिनमा समेत पालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै देवचुली ९ का वडा अध्यक्ष तथा देवचुली नगर खेलकुद विकास समितिका संस्थापक अध्यक्ष बलिराम सापकोटाले खेलका विकासका लागि पालिकाले पहिलोपटक खेलको प्रशिक्षण सुरु गरेको बताउनुभयो । खेलको प्रशिक्षणबाट नगरपालिकाले सहभागिता जनाउने प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई सहभागिता हुने अवसर मिल्ने भएकाले सबैजना सक्रिय भएर सहभागी हुनुपर्ने उहाँले बताउनुभयो । प्रशिक्षणबाट नयाँ खेलाडी उत्पादन गर्न मदत पुग्ने उहाँले बताउनुभयो ।

देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिले बैशाख ५ गते खेल प्रशिक्षणका लागि इन्छुकहरुलाई सूचना दिइएको र नाम दर्ता गरेका खेलाडी भाईबहिनीहरुलाई प्रशिक्षण सुरु गरिएको समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईले जानकारी दिनुभयो । फुटबल खेलका लागि दुई खेलमैदान तय गरिएको र क्रिकेटका लागि रोयल क्रिकेट एकेडमीमा प्रशिक्षण गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार देवचुली वडा नम्बर १,२,३,४,५,१६ र १७ को फुटबल प्रशिक्षण देवचुली माध्यमिक विद्यालयको खेलमैदान रजहरमा र देवचुली वडा ६ देखि १५ सम्मका लागि जन ज्योति नमुना माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल प्रशिक्षण सुरु गरिएको साथै रोयल क्रिकेट एकेडेमीमा क्रिकेट प्रशिक्षण गर्ने भएको हो ।

देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष अमर घर्ती मगरले स्वागत मन्तव्य सहित खेल प्रशिक्षणको उद्देश्य र खेलाडीमा पुग्ने फाइदाका विषयमा भनाई राख्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण समितिका सदस्य सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो ।

Write your Comment