देवचुली । देवचुली नगरपालिकामा फुटबल र क्रिकेट खेलको प्रशिक्षण हुने भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा बैशाख २७ गते बिहान ७ बजेबाट खेलको प्रशिक्षण सुरु गर्न लागिएको हो । दुवै खेलको प्रशिक्षणका लागि ९ वर्षदेखि १६ वर्षसम्मका २ सय बढी छात्रछात्राहरु सहभागी हुने जनाइएको छ ।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिले बैशाख ५ गते खेल प्रशिक्षणका लागि इन्छुकहरुलाई सूचना दिइएको र नाम दर्ता गरेका खेलाडी भाईबहिनीहरुलाई आगामी शनिबारबाट प्रशिक्षण सुरु गरिने समितिका अध्यक्ष दिपकचन्द्र भट्टराईले जानकारी दिनुभयो । फुटबल खेलका लागि दुई खेलमैदान तय गरिएको र क्रिकेटका लागि रोयल क्रिकेट एकेडमीमा प्रशिक्षण गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार देवचुली वडा नम्बर १,२,३,४,५,१६ र १७ को फुटबल प्रशिक्षण देवचुली माध्यमिक विद्यालयको खेलमैदान रजहरमा र देवचुली वडा ६ देखि १५ सम्मका लागि जन ज्योति नमुना माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल प्रशिक्षण सुरु गरिने साथै रोयल क्रिकेट एकेडेमीमा क्रिकेट प्रशिक्षण गर्ने भएको हो ।
देवचुली नगरपालिकाको योजना अनुसार प्रशिक्षण सुरु गर्न लागिएको र बैशाख २८ गतेबाट बिहान ६ बजेदेखि ७:४५ बजेसम्म प्रशिक्षण प्रदान गरिने देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेले जानकारी दिनुभयो। शनिबारबाट सुरु गरिने प्रशिक्षणबाट नयाँ खेलाडी उत्पादन गर्न मदत पुग्ने उहाँले बताउनुभयो ।