आज:  २०८२ बैशाख २३, मंगलबार | Tue, 06, May, 2025 Search
FLASH NEWS

कृषककै सुझाव अनुसार कार्यक्रम तय हुनेछन् : कृषि मन्त्री श्रेष्ठ

    प्रकाशित २०८२ बैशाख २३, मंगलबार (३ घण्टा अघि)


पोखरा । गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप कार्यक्रम तय हुने बताएकी छिन् । प्रदेशका सबैजसो जिल्लाका कृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले प्राप्त सुझाव अनुरुप नै आगामी आ.व.का लागि नीति तथा कार्यक्रम तय गरिने बताएकी हुन् ।

अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटीद्धारा मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशमा कृषि क्षेत्रको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘प्रदेशका सबैजसो जिल्लाका कृषकसँग मैले प्रत्यक्ष संवाद गरेको छु । उहाँहरुकै खेतबारी, गोठहरुमा पुगेर समस्याहरु सुनेको छु । ति सबै सुझाव र समस्याहरु सम्बोधन हुने गरि आगामी आ.व.को नीति तथा कार्यक्रम तय गर्ने तयारीमा छौँ ।’ कृषक प्रत्यक्ष लाभान्वित हुने गरि कार्यक्रम निर्माणका लागि मन्त्रालयका विज्ञहरुले कार्य गरिरहेको उनले जानकारी गराइन् ।

हिमाल, पहाड र तराईको भूगोल सुहाँउदो खेती विस्तारका लागि स्थानीय तहहरुसँग पनि छलफल भइरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले तिनै तहको सरकारबिचको समन्वयले मात्रै यस क्षेत्रको विकास सम्भव रहेको औल्याइन् । ‘कृषि क्षेत्रको उन्नयनका लागि एकल प्रयासले मात्र सम्भव छैन । यसका लागि तीनै तहको सरकारबिचको समन्वय अपरिहार्य छ । यसका लागि हामीले पहल लिइरहेका छौँ’, उनले भनिन्,‘हाम्रो भूगोलको आ आफ्नो विशेषता छ । कहिँ अन्नबाली, कतै फलफूल र कुनै स्थानहरु पशुपालनका लागि उपयुक्त छन् । हामीले माटो, हावापानी अनुसार कुन क्षेत्रमा के खेती वा पालन गर्दा उपयुक्त हुन्छ त्यसलाई नै प्राथमिकतामा राखेर अघि बढ्छौँ ।’

कृषिलाई व्यवसायिक बनाउनुपर्ने कुरामा जोड दिँदै मन्त्री श्रेष्ठले बाँझो जग्गालाई सदुपयोग गर्न आग्रह गरिन् । प्रदेशलाई कृषिमा पुर्ण आत्मनिर्भर बनाउदै निर्यातमुखी वातावरण निर्माणका लागि लागिरहेको उनको जिकिर छ । मन्त्री श्रेष्ठले भनिन्,‘पछिल्लो समय कृषि, पशुपालनमा कृषकहरुको आकर्षण बढीरहेको छ । तर पनि जग्गाहरु बाँझो नै देखिन्छन् । कम्तिमा बाँझो जग्गामा खेती सुरु गर्ने हो भने हामी पूर्ण आत्मनिर्भर हुन असजिलो छैन । यसले निर्यातको वातावरण पनि निर्माण गर्दछ ।’

नेकपा(एमाले) गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीले कृषि क्षेत्रको वर्तमान नीतिहरुमा पुनरावलोकनको आवश्यकता रहेको औैल्याउदै बजार व्यवस्थापनमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम नारायण अधिकारी, पोखरा रिसर्च सेन्टरका सुजन रेग्मी लगायतले कृषक हितलाई आगामी बजेटले सम्बोधन गर्ने विश्वास ब्यक्त गरे ।
कमिटीका अध्यक्ष गोवर्धन गौलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Write your Comment