आज:  २०८२ बैशाख १३, शनिबार | Sat, 26, Apr, 2025 Search
FLASH NEWS

सरस्वती संस्कृत तथा साधारण मा.वि. गिरुवारीको स्वर्ण महोत्सव चार राजनीतिक दलद्वारा बहिस्कार

    प्रकाशित २०८१ मंसिर २८, शुक्रबार (४ महिना अघि)


कावासोती । हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संस्कृत तथा साधारण मा.वि. गिरुवारीको स्वर्ण महोत्सव कार्यक्रमको विभिन्न चार राजनीति दलले बहिष्कार गरेका छन् । मंसिर २९ गते देखि पौष ३ गतेसम्म सञ्चालन हुने स्वर्ण महोत्सवको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले मंसिर २७ गते संयुक्त विज्ञप्ती जारी गर्दै हुप्सेकोट गाउँपालिका र विद्यालयमा विद्यमान वेथितिको अन्त्यका लागि कार्यक्रमको बहिष्कार गर्नु परेको उल्लेख गरेका छन् । विद्यालयका प्रधानाध्यापक रहेका टंकनाथ ढकाललाई अवैध सरुवा मार्फत विद्यालयमा विद्यालयमा हाजिर गराई प्रधानाध्यापकको समेत जिम्मेवारी प्रदान गर्ने, विभेदकारी नीति निर्माण गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्ति गर्ने जस्ता कार्यको कारण विद्यालयको गरिमामा आच आएको भन्दै राजनीतिक नियुक्तिबाट विद्यालय सञ्चालनको जिम्मेवारी पाएका व्यक्तिहरुको नेतृत्वमा हुने कार्यक्रममा सहभागीता जनाउन नसकिएको नेकपा एमाले हुप्सेकोट गाउँपालिका कमिटीका अध्यक्ष गन बहादुर सारुले बताए ।

विनयी त्रिवेणी गाउँपालिका–२ को भानुदय माध्यामिक विद्यालयबाट रमान समेत नलिई विद्यालयका शिक्षक टंकनाथ ढकाल सम्पर्कमा नआएको भन्दै विद्यालयले सूचना जारी गरेको थियो । हाल सम्म ढकालको दरबन्दी भानुदय मा.वि.मा नै रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र अदालतमा समेत ढकालको सम्बन्धमा मुद्दा विचारधिन रहेको अवस्थामा विवादित व्यक्तिहरुको नेतृत्वमा कार्यक्रम आयोजना हुनु र गृहमन्त्री समेत कार्यक्रममा सहभागी हुने कार्यक्रम रहनुले अवैध कार्यलाई प्रोत्साहन हुने भएकाले चार दलले संयुक्त रुपमा बिरोध गरेको माओवादी केन्द्र हुप्सेकोटका अध्यक्ष टेकनाथ सिग्देलले बताउनुभयो ।

विज्ञप्तीमा हुप्सेकोट गाउँपालिकामा वर्तमान नेतृत्वले लिएको विभेदकारी निति, कर्मचारी नियुक्तीमा राजनीतिकरण, आर्थिक हिनामिना, प्राकृतिक श्रोत साधनहरुको दोहनको अन्त्य गर्दै गाउँपालिकामा सुःसाशन कायम गर्न पटकपटक चार राजनीतिक दलले गरेको अनुरोधलाई गाउँपालिकाले वेवास्ता गर्दै जनताको मनोभावना विपरित कार्य गरेको उल्लेख गरिएको छ ।

हुप्सेकोट गाउँपालिकालाई एउटा सवल र आत्मनिर्भर गाउँपालिका बनाउन पटक पटक झकझकाउने, ज्ञापनपत्र बुझाउने, विज्ञप्तीहरु बुझाउने जस्ता कामहरु भएपनि त्यसतर्फ कुनै पनि सम्बोधन गर्न वर्तमान नेतृत्व गम्भीर नभएको आरोप लगाइएको छ ।

गाउँपालिकाबासीलाई समान दृष्टिकोणले हेर्ने शैलिको बिकास, विद्यामान वेथितिको अन्त्य नहुदाँ सम्म अबका दिनमा गाउँपालिकाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा चार राजनीतिक दलहरु सहभागी नहुने उल्लेख गर्दै सोही कार्यक्रमको पहिलो आन्दोलनको रुपमा स्वर्ण महोत्सव कार्यक्रम बहिष्कार गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेकपा एमालेका हुप्सेकोट गाउँपालिका अध्यक्ष गन बहादुर सारु, माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष टेकनाथ सिग्देल, राष्ट्रिय प्रजातन्त्र पाटीका गाउँपालिका अध्यक्ष ओमबहादुर बि.सी र राष्ट्रिय जनमोर्चाका गाउँपालिका कमिटी अध्यक्ष मान बहादुर लामाले संयुक्त हस्ताक्षर गरेका छन् ।

Write your Comment