आज:  २०८१ मंसिर २२, शनिबार | Sat, 07, Dec, 2024 Search
FLASH NEWS

वडा अध्यक्षसँग कालिका माविका विद्यार्थीले गरे अन्तरक्रिया

    प्रकाशित २०८१ मंसिर १४, शुक्रबार (१ हफ्ता अघि)


देवचुली । देवचुली ९ मा रहेको कालिका माविका विद्यार्थीहरुले आफ्नै वडाका अध्यक्षसँग वडाका विविध विषयमा अन्तरक्रिया गरेका छन् । कालिका माविको कक्षा ७ का विद्यार्थीहरुले सामाजिक शिक्षा विषयमा भएका विभिन्न क्रियाकलाप अन्तरगत देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटासँग विविध विषयमा छलफल गरेका हुन् ।

शुक्रबार वडा कार्यालय पुगेका उनीहरुले वडामा जम्मा जनसंख्या, दीर्घ रोगीहरुको संख्या, बालबालिका, ज्येष्ठ नागरिकका लागि हुने कार्यक्रमहरु, बालबालिकाकाका लागि विनियोजन बजेट, विपद व्यवस्थापनमा वडाको भुमिका, लागुऔषधको दुर्व्यसनी न्यूनीकरणमा वडाको भुमिका, सामाजिक सचेतनामा बालबालिकाको भुमिका कस्तो हुनुपर्ने लगायत विभिन्न प्रश्नहरु वडा अध्यक्ष समक्ष राखेका थिए ।

बालबालिकाका प्रश्नहरु सुनिरहेका वडा अध्यक्ष बलिराम सापकोटाले वडामा बालबालिका, ज्येष्ठ नागरिकका लागि भएका कार्यक्रमको जानकारी गराउँदै सीपमुलक कार्यलाई वडाले प्राथमिकता दिएको बताउनुभयो । विपद व्यवस्थापनमा विद्यार्थीको समेत महत्त्वपूर्ण भुमिका रहने र आफ्नो समुदायमा महत्त्वपूर्ण सूचना प्रवाह विद्यार्थी लाग्नुपर्ने उहाँले बताउनुभयो । वडामा आएर सदैव आफुलाई लागेको जिज्ञासा सोध्न सकिने बताउँदै विद्यालयमा समेत आएर विद्यार्थीसँग अन्तरक्रिया गर्ने उहाँले बताउनुभयो । वडामा जननिर्वाचित ५ जनाले आवश्यकता अनुसार वडाबासीको सेवालाई सहज र सजिलो हुने गरि काम गरिरहेको र आगामी दिनमा समेत निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कालिका माविमा अध्ययनरत अनुजा सारुले वडा अध्यक्षले आफुहरुलाई समय छुट्याएर सबै जिज्ञासाको उतर दिनुभएकोमा धन्यवाद दिदै आगामी दिनमा समेत वडामै आएर छलफल गर्ने बताउनुभयो । कार्यक्रममा कालिका माध्यमिक विद्यालयका शिक्षक सीता पौडेलले विद्यार्थीहरुले प्रत्यक्ष रुपमा वडाका विविध कार्यक्रमको बारेमा जानकारीसहित आफ्नो सामाजिक विषयमा भएका प्रश्नहरुको बारेमा वडा अध्यक्षसँग सोध्दा अझ धेरै शैक्षिक उपलब्धि हासिल गर्न सहज हुने बताउनुभयो ।

Write your Comment