आज:  २०८१ मंसिर २२, शनिबार | Sat, 07, Dec, 2024 Search
FLASH NEWS

श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाहिने

    प्रकाशित २०८१ कार्तिक २६, सोमबार (३ हफ्ता अघि)


काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने व्यवस्था लागु गरिएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो ।

त्यसैगरी, नेपाली कूटनीतिक/आधिकारिक/सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज-पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक पर्ने छैन ।

अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन भने रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने छ ।

ट्राभल एनओसी आवश्यक पर्ने नेपाली नागरिकहरूलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातहरू सहित तोकिएको मितिभन्दा कम्तिमा सात दिन अगाडि सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ । यात्रा NOC को लागि सेवा शुल्क प्रति व्यक्ति १००० भारू तोकिएको छ ।

Write your Comment