आज:  २०८१ कार्तिक २५, आईतबार | Sun, 10, Nov, 2024 Search
FLASH NEWS

कावासोती १२ का ६ जना किसान सम्मानित

    प्रकाशित २०८१ कार्तिक १३, मंगलबार (१ हफ्ता अघि)


कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ द्वारा वडाका ६ जना किसानलाई सम्मान गरेको छ । कावासोती १२ ले निरन्तर कृषि खेती तथा पशुपालन गर्ने ६ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको हो ।

वडाका कृषिमा लागेका कृषकहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको र तरकारी, फलफुल खेती गर्ने कृषक समूह र दर्ता गरिएका फर्महरुलाई टनेल वितरण गरिएको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । वडाले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटबाट सम्मान तथा टनेल वितरण कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कावासोती १२ का अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी चिन्तामणी शर्मा लगायत किसानहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थनेतले कृषकहरुको प्रोत्साहन लागि वडाले गरेको कार्य उत्कृष्ट भएको बताउँदै तरकारी तथा फलफुल लगाउने किसानहरूले टनेलको उचित सदुपयोग गर्न सुझाव दिनुभएको थियो । नगरपालिकाले किसान कार्ड वितरण गर्ने कार्यक्रम संचालन गरिरहेको र किसान कार्डका आधारमा कृषि अनुदान दिने कामको सुरुवात गरिएको उहाँले बताउनुभयो । किसानहरुका मागका आधारमा नगरपालिकाले कार्यक्रम तय गर्ने उहाँले बताउनुभयो ।

वडाले उदाहरणीय कार्य गर्ने ६ जनालाई नगदसहित प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको हो। अपाङ्ता भएर लामो समयदेखि गोरु पालेर कृषि तथा पशु पेशालाई संरक्षण गर्ने खरकट्टा टोलका सहबहादुर लामिछाने मगर, लामोसमय सम्म राँगा र गाडा राखेर कृषि तथा पशु पेशामा आत्मनिर्भर भएका राजमन्दिर टोलका भोजबहादुर महतो, तरकारी खेतीमा आत्मनिर्भर भएर उत्पादनलाई बढावा दिएका पिठौली ठूलो टोलका सुरेन्द्र सिंह महतो, फलफुल, तरकारी खेती, मह तथा पुष्प व्यवसायमा आत्मनिर्भर भएर उत्पादनलाई बढावा दिएका पिठौली गैरीका ज्ञानेन्द्र गुरुङ, भैंसी पालेर दूध बिक्री गरेर कृषि तथा पशु सेवामा आत्मनिर्भर भएका पिठौली गैरीका सुकबहादुर गुरुङ र कुखुरा, हाँस र अन्य पशुपन्छी पालेर कृषि तथा पशु सेवामा आत्मनिर्भर भएकी मिनाकुमारी महतोलाई सम्मान गरिएको हो।

त्यसै गरि कृषक समूह र दर्ता गरिएका कृषि फर्महरुलाई २० वटा टनेल वितरण गरिएको हो । उक्त कार्यक्रममा वडा सदस्य केवल चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन वडा सदस्य वन्दना तिवारी भुजेलले गर्नुभएको थियो ।

Write your Comment