आज:  २०८१ आश्विन २१, सोमबार | Mon, 07, Oct, 2024 Search
FLASH NEWS

बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा केन्द्रित मध्यविन्दु नगरपालिका

    प्रकाशित २०८१ आश्विन १५, मंगलबार (६ दिन अघि)


नवलपुर । अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित बनेकाे छ। बाढीग्रस्त अवस्थामा नागरिकको जिउज्यान जाेगाउन उद्वारमा खटिएको पालिका बाढी पश्चात् समस्याको पहिचान गरि आवश्यकता अनुसार राहत र पुनःस्थापनामा तिव्र रुपमा लागेको हाे ।


पालिका भित्र नारायणी नदि तटीय क्षेत्रमा धेरै प्रभाव परेको थियाे। मध्यविन्दु नगरपालिका भित्रका वडाहरु २, ३,४,६ ,१२, १५ मा असर पारेको थियाे । प्रभावित मध्येको वडा नम्बर २ का करिब दुई सय घर परिवारलाई सोमबार राहत सामाग्री हस्तान्तरण गरिएको छ।

मध्यविन्दु नगरपालिकाले उक्त क्षेत्रमा सेभ द चिल्ड्रेन नेपाल , जागृति बाल तथा युवा सराेकार नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जालकाे सहकार्यमा राहत सामाग्री वितरण गरेको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाले आज भाडाकुडा , ब्लाङ्केट , सरसफाइका सामाग्री , खाधान्न लगायतका सामाग्री प्रदान गरेकाे हाे । राहत सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले सबैकाे सहयाेगले बाढीकाे अवस्थामा कुनै मानवीय क्षति नभएको भन्दै उद्वारमा खटिने सबैमा धन्यवाद दिनुभयो । उहाँले अब बाढी प्रभावित नागरिकलाई पूर्व अवस्थामा फर्काउने साथै राहत वितरणमा आफूहरु केन्द्रित बनेको बताउनुभयो । “सबैकाे अथक प्रयासले हामीले मानवीय क्षति हुनबाट राेक्याैं, अब सबैकाे सहकार्यले पुनःस्थापन र प्रभावित नागरिकको दैनिकी सहज बनाउन लाग्छाैं, यस कार्यमा सहयोग गर्न सबैमा अनुरोध गर्दछु ” नगर प्रमुख अधिकारीले भन्नुभयो ।

बाढीले कृषिबाली , घरका सामाग्रीमा धेरै क्षति पुगेको बताउदै सबैकाे लगत संकलन गरि नगरपालिका र अन्य संस्थाकाे समन्वय सहयोग उपलब्ध गराउदै जाने बताउनुभयो । नगरपालिकाले नागरिकको साथमा स्थानीय सरकार छ भन्ने अनुभुती दिने हिसाबले काम गर्न कुनै कसर बाँकी नराख्ने गरि आफूहरु लाग्ने नगर प्रमुख अधिकारीले बताउनुभयो ।


बाढी प्रभावित सेहरीमा हाल नगरपालिका र अन्य संस्थाकाे सहकार्यमा खाना खुवाउने काम समेत चलिरहेको छ। बाढी पछि स्वास्थ्यमा समस्या नहाेस भनेर स्वास्थ्य शाखा, कृषि तथा पशुपन्छि शाखाले अवस्था बुझ्ने र आवश्यकता अनुसारको याेजना बनाईरहेकाे उहाँले बताउनुभयो ।

वडा नम्बर दुईका वडा अध्यक्ष रामभक्त अधिकारीले बाढीले ठूलाे असर पारेको र अहिले प्रत्येक घरमा पुगि लगत लिने र तत्काल आवश्यक विषयकाे पहिचान गर्ने काम चलिरहेको बताउनुभयो ।

सोमबार भएको राहत वितरण कार्यक्रम उप प्रमुख पूर्णकला चाैधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती , वडा नम्बर २ का वडा अध्यक्ष रामभक्त अधिकारी अन्य जनप्रतिनिधि , कर्मचारी , सहयाेगी संस्था सेभ द चिल्ड्रेनका प्रतिनिधि,जागृति बाल तथा युवा सराेकार नेपालका महासचिव दिपक शर्मा लगायतकाे उपस्थिति रहेको थियाे। राहत प्राप्त गर्ने स्थानीयले नगरपालिकाले आफ्नो दुखकाे घाउमा मलम लगाउने काम गरेको भन्दै धन्यवाद दिएका थिए।

बाढीका कारण मध्यविन्दु नगरपालिकामा करिब ४ सय ५० घरधुरी डुबानमा परेको छ । एक सय ५० घरधुरीमा डुबानबाट क्षति पुगेको पालिकाले जनाएको छ। कृषि तथा पशुपन्छि फर्ममा कराेडाैंकाे क्षति पुगेको छ।

Write your Comment