आज:  २०८१ आश्विन २१, सोमबार | Mon, 07, Oct, 2024 Search
FLASH NEWS

कावासोतीमा जिल्ला हुलाक कार्यालय स्थापना

    प्रकाशित २०८१ भाद्र २७, बिहिबार (३ हफ्ता अघि)


कावासोती । नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ । संघीय शासन व्यवस्था शुरु भएको सात बर्ष पछि जिल्ला हुलाक कार्यालय नवलपरासी (बर्दघाट सूस्ता पूर्व) कावासोतीमा स्थापना भएको हो ।

अगुवा पत्रकारहरुले जिल्लामा हुलाक कार्यालय स्थापना नहुँदा एफ.एम रेडियोको नविकरण, रोयल्टीको रकम बुझाउन तथा पत्रपत्रिकाको काम गर्न अर्को जिल्ला जानुपर्ने भन्दै सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई जिल्ला हुलाक कार्यालय स्थापना गर्न आग्रह गरेकोमा त्यसले पूणर्ता पाएको अग्रज पत्रकार विद्रोही गिरीले बताउनुभयो ।

पिठौली हुलाक कार्यालयलाई नै जिल्ला हुलाक कार्यालयको रुपान्तरण गरि भदौ तेस्रो सातादेखि कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय कावासोतीमा निमित्त प्रमुख केशबहादुर खण्डलुले जानकारी दिनुभयो । जिल्ला हुलाक कार्यालय परासीबाट भदौ १७ गते सरुवा भई आएका निमित्त प्रमुख खण्डलुले जिल्ला हुलाकको स्थापनासंगै पालिका स्तरका हुलाक कार्यालयहरु व्यवस्थापनमा जुटेको बताउनुभयो ।

३० वटा अतिरक्ति हुलाक कार्यालय र केही इलाका हुलाक कार्यालयहरु रहेको नवलपुरमा अब भने पालिका स्तरमा एक जना खरिदारको नेतृत्वमा ४ कर्मचारी सहितका हुलाक कार्यालयहरु रहेछन् । अतिरिक्त हुलाक कार्यालयहरु भने त्यहाँ रहेका कर्मचारीहरु अवकाशसंगै बन्द हुने भएका छन् ।जिल्लामा एक शाखा अधिकृत सहित २६ जना कर्मचारीहरु रहेछन् ।

बुलिङटार, बौदीकाली, गैंडाकोट, देवचुली, मध्यबिन्दु नगरपालिकामा पालिका स्तरका हुलाक कार्यालय सञ्चालनमा समस्या नरहेपनि हुप्सेकोट र विनयी त्रिवेणीमा भने पालिकासंगको समन्वयमा पालिका स्तरका हुलाक कार्यालयहरु स्थापना हुने निमित्त प्रमुख खण्डलुले बताउनुभयो ।कार्यालयको व्यवस्थापनसंगै उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ अहिलेलाई भने पिठौली हुलाकबाटै जिल्ला हुलाक कार्यालयको सेवा दिने काम थालेका छौं उहाँले भन्नुभयो ।

Write your Comment