डि आर क्षेत्री, नवलपुर । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालकाे प्रथम महाधिवेशन भदौ ८ गते बुटवलमा हुने भएको छ । कार्यसमिति बैठकले महाधिवेशनका लागि संस्थाका अध्यक्ष सुर्य पराजुलीको संयोजकत्वमा ५० सदस्यीय मूल आयोजक समिति गठन गरेकाे छ । साथै महाधिवेशन सम्पन्न गर्नका लागि अन्य नाै वटा विभिन्न उप समितिहरु समेत चयन गरेकाे छ ।
नेपाल भरि छरिएर रहेका बजार प्रतिनिधिहरुलाई संगठित गराउँदै उनीहरुकाे हक हितका लागि संस्थाले काम गर्ने गर्दछ । ओम्स नेपाल मजदुरहरुको ट्रेड यूनियन संस्था जिफन्टसँग आबद्ध संस्था हो । महाधिवेशनमा बजार व्यवस्थापन तथा बिक्री कर्मचारीका हकहित, उनीहरुलाई सामाजिक सुरक्षा सहित सम्मानजनक तलब ,बीमा लगायतका विषयमा छलफल हुने र सरकारसंग श्रमिकमैत्री नीति निर्माणका लागि पहल गरिने जनाइएको छ ।
देशभरका करिब ५ हजार जना सदस्य रहेकाे संस्थाकाे महाधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षक गरि करिब सात सयकाे उपस्थिति रहने आयाेजकले जनाएको छ ।