आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन सम्बन्धि कार्यशाला

    प्रकाशित २०८१ अषाढ १, शुक्रबार (४ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा शिक्षा विकास तथा निर्देशनालय गण्डकी प्रदेशको सहजीकरणमा नगरपालिकाको सभाहलमा कार्यशाला गरिएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यशालामा नगर उप प्रमुख पार्वता तिवारी, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिका प्रसाद आचार्य, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, पाठ्यक्रम विज्ञ पदमराज आचार्य, पृथ्वीनारायण क्याम्पस पोखराका उप-प्राध्यापक एवं पाठ्यक्रम विज्ञ सुदेश पण्डित, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका उप सचिव ऋषिराज बास्तोला लगायत वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर शिक्षा समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यशालामा स्थानीय पाठ्यक्रम समितिले तयार गरेको हाम्रो देवचुली पाठ्यक्रमको बारेमा समितिका सदस्य शिवप्रसाद देवकोटाले प्रस्तुतीकरण गर्नुभएको थियो । कक्षा १ देखि ५ सम्म पहिलो चरणमा लागु गर्ने तयारी गरिएको पाठ्यक्रमका बारेमा सहभागीहरुबाट सुझाव लिइएको थियो । कार्यशालामा शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका इकाइ प्रमुख रुद्र शर्मा, प्याब्सन देवचुलीका प्रतिनिधि पदम बराल, सामाजिक विकास कार्यालय नवलपुरका कृष्ण प्रसाद पौडेल, देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, पाठ्यक्रम विज्ञ सुदेश पण्डित, पाठ्यक्रम विज्ञ पदमराज आचार्यले पाठ्यक्रम माथि सुझाव राख्नुभएको थियो ।


संघीय तहबाट निर्माण हुने पाठ्यक्रम भन्दा स्थानीय पाठ्यक्रमले बालबालिकामा स्थानीय तबरमा अझ प्रभावकारी हुने भएकाले सरकारले स्थानीय पाठ्यक्रमको विकासलाई प्राथमिकता रहेको शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले बताउनुभयो ।

व्यवहारिक शिक्षाका लागि स्थानीय पाठ्यक्रमले सहयोग गरि पाठ्यक्रम बनाउन लागिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । स्थानीय तहमा भएका भेषभुषा, रीतिरिवाज, चालचलन लगायतका कुराहरु जानकारी हुने गरि पाठ्यक्रम आउने उहाँले बताउनुभयो । स्थानीय पाठ्यक्रम निर्माण समितिले मेहनतका साथ काम गरिरहेकाले कार्यशालामा आएका सुझावहरुलाई समेटेर पाठ्यक्रम निर्माण गर्नका लागि समेत समितिलाई निर्देशन दिनुभएको थियो ।

देवचुली नगरपालिकाका शिक्षा शाखाका प्रमुख रामप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यशालाको सहजीकरण शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले गर्नुभएको थियो ।

Write your Comment