आज:  २०८१ अषाढ १, शुक्रबार | Fri, 14, Jun, 2024 Search
FLASH NEWS

मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’

    प्रकाशित २०८१ जेष्ठ २६, शनिबार (५ दिन अघि)


नवलपुर । बुलिङटार गाउँपालिका–४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । विसं २०७५ मा स्थापना भएको यस घरबासमा मगर संस्कृतिसँग रमाउन चाहने आन्तरिक पर्यटक आउने गर्दका छन् । यस घरबासलाई महाभारत पर्वत शृङ्खलाको अग्लो पहाड देवचुली डाँडा, चुली बोझा गाउँको नाम र मगर समुदायलाई जोडेर देवचुली चुलीबोझा मगर सामुदायिक घरबास पहिचान दिइएको छ । जिल्लामा घरबास खुल्नेक्रम बढेसँगै यहाँका मगर समुदायले आफ्नो संस्कृति र खानाका परिकार पर्यटकको रोजाइमा पार्न घरबास सञ्चालन गरेका हुन् ।

पूर्व–पश्चिम राजमार्गको दलदले बजारबाट २२ किमी उत्तरमा रहेको बुलिङ्टार–४ मा पर्ने होमस्टेमा यहाँको रैथाने खाना, मगर कलासंस्कृति र मनोरम दृश्य अवलोकनका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको घरबासका सचिव हेमलाल बरालले बताउनुभयो ।

“मगर समुदायको कलासंस्कृतिसँगै, स्थानीय क्षेत्रमा उत्पादित वस्तुबाटै बनेका खानाका परिकार कोदोको ढिँडो, सिस्नुको अचार, लोकल कुखुराको स्वादका लागि मात्रै नभएर देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटक, तराईबाट गर्मी छल्न आउनेका लागि यो घरबास उत्कृष्ट गन्तव्य बन्दै गएको छ”, उहाँले भन्नुभयो ।

स्थापना गरिएको केही वर्ष खासै चर्चामा आउन नसकेको भए पनि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएपछि सामुदायिक रुपमा घरबास सञ्चालन गर्दै आएका स्थानीय खुसी भएका छन् । चुली बोझामा अहिले १३ घरमा घरबास सञ्चालन हुँदै आएको छ । दैनिक ५० देखि ६० जनासम्म पर्यटकलाई सेवा दिन सकिने गरी घरबास व्यवस्थापन गरिएको सचिव बरालले जानकारी दिनुभयो ।

“स्थानीय उत्पादनबाट बनेका परिकारको स्वाद र मगर समुदायको मौलिक संस्कृति अवलोकन गर्न पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “अहिले दैनिकरूपमा एक दर्जनदेखि ५०/६० जनासम्म पर्यटक यहाँ आउने गरेका छन् ।” छिमेकी जिल्ला चितवन, पश्चिम नवलपरासी, रुपन्देहीसहित देशका विभिन्न भागबाट आउने पर्यटकले स्थानीय रैथाने खाना, मगर कलासंस्कृति मात्रै नभएर एक हजार नौ सय ३६ मिटर अग्लो देवचुली डाँडाको पदयात्रा, वरचुली डाँडा, उत्तरतर्फ धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य, धौवादीको फलाम खानीको डाँडासमेतको दृश्य अवलोकन अवसर पाउने गरेका छन् ।

“घरबास आएका पर्यटकबाट हुने आम्दानीको १० प्रतिशत समूहमा राख्ने गरिएको छ”, उहाँले भन्नुभयो, “समूहमा रहेको रकम घरबासको प्रवद्र्धन तथा सामाजिक काममा प्रयोग हुँदै आएको छ ।” नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु, मगर, गुरुङ, दराई, बोटे जातिको घरबास सञ्चालनमा रहेका छन् । रासस

Write your Comment