आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देशव्यापीरुपमा ‘श्रमाधान रोजगार मेला’ सञ्चालन हुँदै

    प्रकाशित २०८१ जेष्ठ २३, बुधबार (१ महिना अघि)


काठमाडौं । ‘श्रमाधान रोजगार मेला’ देशव्यापीरुपमा सञ्चालन भइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको यो मेला ७ वटै प्रदेशमा सञ्चालन हुँदैछ । कोशी प्रदेशबाट जेठ १७ गते सुरु भएको यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । मेला हरेक प्रदेशमा २ दिन चल्नेछ ।

कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशमा मेला सम्पन्न भइसकेको छ । गण्डकी प्रदेशमा मेला हिजो समापन भएको थियो भने कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा जेठ १७ र १८ गते मेला सम्पन्न भएको हो । त्यस्तै, मधेश प्रदेशको वीरगञ्जमा १९ र २० गते सम्पन्न भएको हो । गण्डकी प्रदेशको पोखरामा सोमबारदेखि सुरु भएको मेला हिजो अर्थात मंगलबार सम्पन्न भएको हो ।

यसैगरी, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशस्थित वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते र बाग्मती प्रदेशको ललितपुरमा जेठ २९ र ३० गते मेला सञ्चालन हुनेछ ।

‘श्रमाधान रोजगार मेला’ सञ्चालनको खास उद्देश्य के हो ?

नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो । आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले मेला आयोजना गरिन लागिएको श्रम मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालको भनाई छ । यसले रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गर्ने पनि मन्त्रालयको अपेक्षा छ ।

मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिइने छ । मेला बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात भएको उनको भनाई छ । अबको १५ वर्षपछि बाध्यात्मक रुपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने उद्देश्य उक्त मेलाको रहेको आयोजकको भनाई छ ।

मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलन विन्दुस्थल हुनेछ । समग्रमा सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’ को महत्वपूर्ण भूमिका रहने भुसालले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटेल संघ नेपाल मेलाको सहआयोजक छन् । मेलालाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी) ले सहयोग गरेका छन् ।

मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत विभिन्न खालका तालिम प्रदायक संस्थाहरुको पनि सहभागिता रहनेछ ।

उत्साहजनक सहभागिता

‘श्रमाधान रोजगार मेला’ ३ प्रदेशमा सम्पन्न भइसकेको छ । तिनै प्रदेशमा उत्साहजन सहभागिता रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भुसालको भनाई छ । कोशी प्रदेशको मेलामा ५ हजार र मधेशप्रदेशमा ४ हजार जना सहभागि र गण्डकी प्रदेशमा छ हजारको हाराहारिमा सहभागी भएको उनले बताए ।

मेलामा विशेष गरेर श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधानलगायत सरकारी स्टल राखिएका थिए  । त्यसका साथै, कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल समेत राखिएको थियो ।

Write your Comment